तेलमा झेलः मासिक खर्चिए अढाई लाख

राजविराज, १ असोज । जनतालाई करको भार बोकाएर जनप्रतिनिधि र कर्मचारीहरु लाखौं रुपैया इन्धन (तेल) मा खर्च गर्ने गरेको पाइएको छ । जनप्रतिनिधि र कर्मचारीहरु आफ्नै सेवा/सुविधामा अग्रसर हुँदा सप्तरीको खडक नगरपालिकामा इन्धनमा मात्रै मासिक २ लाख ७० हजारभन्दा बढी रुपैयाँ खर्च भएको पाइएको हो ।

जनप्रतिनिधि र कर्मचारीहरु आफ्नै सेवा÷सुविधामा अग्रसर हुँदा नगरपालिकामा एक आर्थिक बर्षमा इन्धन र सवारी मर्मत खर्च मात्र ४२ लाख रुपैँया बढी भएको महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा छ ।

०७६/०७७ को प्रतिवेदनअनुसार नगरपालिकामा एक आर्थिक बर्षमा इन्धनमा ३२ लाख ४२ हजार ४५० रुपैयाँ र सवारी मर्मतमा ११ लाख ९४ हजार ३३ रुपैयाँ गरी कुल ४२ लाख ३७ हजार ३८३ रुपैँया गरेको छ । यद्यपी, नगरपालिकाले इन्धन र सवारी मर्मतमा लाखौं रुपैया खर्च गरेपनि खर्चको प्रमाण भने बुझाउन सकेको छैन् ।

‘ईन्धन खपत भएको देखिने लगबुक अध्यावधिक राखेको छैन्’ प्रतिवेदनमा भनिएको छ, ‘सिमित मात्र सवारी साधन भएको स्थितिमा इन्धन खपत भएको देखिने सवारी लगबुक व्यवस्थित गरी इन्धनको दुरुपयोग हुन नदिनेतर्फ नगरपालिकाले ध्यान दिनुपर्दछ ।’

यसैगरी सवारी मर्मत खर्चको पनि अभिलेख व्यवस्थापन गर्न नसकेको महालेखापरीक्षकको कार्यालयको प्रतिवेदनले देखाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस