सप्तरीमा साता दिनमै ४ बालिकासहित ६ जनाको डुबेर मृत्यु

राजविराज, १० असोज । सप्तरीमा एक सातायता पानीमा डुबेर चार बालिकासहित ६ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पछिल्लो पटक हिजो (शनिवार) शम्भुनाथ नगरपालिका–१२ अर्नाहामा पानीमा डुबेर एक बालकको मृत्यु भएको छ ।

स्थानीय महानन्द सरदारको २ वर्षीय छोरा राम पुकार सरदारको पानीमा डुबेर मृत्यु भएको हो । घर पछाडी रहेको पोखरीको डिलमा खेल्ने क्रममा पानीमा डुबेर चिकिस्त बनेका बालकलाई उपचारको लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याउने क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले बताए ।

यसैगरी गत शुक्रवार जिल्लाको बिष्णुपुर गाउँपालिका–५ कट्टीमा एक ३ वर्षीय बालकको मृत्यु भएको थियो । स्थानीय मो.आजादको छोरा रहमद आली घर नजिकै रहेको पोखरीमा डुबेर चिकिस्त भएका थिए । उपचारको लागि छिन्नमस्ता अस्पताल राजविराज ल्याउने क्रममा उनको पनि मृत्यु भएको थियो ।

यसैगरी गत बुधवार जिल्लाको महादेवा गाउँपालिका–२ अकबरपुरमा पोखरीमा डुबेर रामचरित्र मण्डलकी ५ वर्षीया छोरी सिवानी मण्डलको मृत्यु भएको पोखरीमा डुबेर मृत्यु भएको थियो । घर नजिकै रहेको पोखरीमा नुहाउने क्रममा सिवानी डुबेको प्रहरी नायव उपरीक्षक काफ्लेले बताए ।

यसअघि गत मंगलबार पनि तिलाठी कोइरलाडी र तिरहुत गाउँपालिका तथा खडक नगरपालिकामा डुबेर तीन जनाको मृत्यु भएको थियो । तिलाठी कोईलाडी गाउँपालिका–२ लौनियाका भतो मंसुरीकी १२ वर्षीया छोरी सवना खातुनको नहरमा पानीमा डुबेर मृत्यु भएको थियो ।

नहरमा कपडा धुने क्रममा डुबेर सवनाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक काफ्लेले जानकारी दिए । यसैगरी, खडक नगरपालिका–८ मुसहरनियाका राजेश कुमार चौधरीकी ३ वर्षीया छोरी एलिजा कुमारी चौधरीको पोखरीमा डुबेर मृत्यु भएको थियो ।

आफ्नै घरको नजिकै रहेको पोखरीमा नुहाउने क्रममा एलिजा डुबेर चिकिस्त भएकी थिइन् । उपचारको लागि सप्तऋषी अस्पताल लहानतर्फ लैजाने क्रममा मृत्यु भएको थियो । उता, महादेवा गाउँपालिका–४ पर्साहीका अमृत सदाकी ३० वर्षीया छोरी लक्षण कुमारी सदाको पनि पोखरीमै डुबेर मृत्यु भएको थियो । भाँडा मस्काउन पोखरीमा गएकी लक्षणको लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस