मृत्यु भइसकेका व्यक्तिको भत्ता खाइदिने यी पाँच सचिव

राजविराज, १३ असोज । उदयपुरका पाँच जना तत्कालीन गाविस सचिवविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साविक रामपुर ठोक्सिला गाविसका गाविस सचिवविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको दायर गरेको हो ।

उनीहरुले एक दशकदेखि मृत्यु भइसकेका व्यक्तिको नामबाट सामाजिक सुरक्षा भत्ता वापतको रकम लिँदै आएको प्रमाण फेला परेपछि मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले जारी गरेको विज्ञप्तिमा छ ।

विज्ञप्तिका अनुसार तत्कालीन गाविस सचिव केशवप्रसाद आचार्य, लोकेन्द्र कार्की, विशाल सुन्दास, माधवप्रसाद खतिवडा र पुष्पराज सिग्देलविरुद्ध मुद्दा चलाइएको छ । आचार्य हाल मालपोत कार्यालय उदयपुरमा नायव सुव्बा पदमा कार्यरत छन् ।

यसैगरी कार्की हाल रौतामाई गाउपालिका–७ का वडा सचिव पदमा, सुन्दास हाल तथ्याङ्क कार्यालय उदयपुरमा खरिदार पदमा, खतिवडा हाल रौतामाई गाउँपालिकाको कार्यालयमा अधिकृत छैटौ पदमा र सिग्देल अवकास प्राप्त शाखा अधिकृत हुन् ।

उनीहरुले आर्थिक वर्ष २०६३ देखि ०७२ सम्म गरी सामाजिक सुरक्षा भत्तावापतको १६ लाख ४० हजार ५ सय रूपैयाँ दुरूपयोग गरेको आयोगको अनुसन्धानले खुलेको छ । सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने व्यक्तिको मृत्यु भएपछि मृत्यु दर्ता गरिन्छ । त्यसपछि भत्ता कट्टा गरिन्छ । तर, तत्कालीन सचिवहरुले त्यसो नगरी मृतकको नाममा भरपाई बनाएर भत्ता लिइरहेको अख्तियारले अनुसन्धानमा फेला पारेको थियो ।

उनीहरुले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कसुरजन्य कार्य भएकोले सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय खण्ड (घ) बमोजिम सजाय गरी दफा १७ बमोजिम विगो असुल हुन माग गरिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस