किसानलाई राहत दिने तयारीमा प्रदेश–२ सरकार

जनकपुरधाम । प्रदेश नम्बर–२ सरकारले वर्षाका कारण कृषि क्षेत्रमा भएको क्षतिबारे तथ्यांक संकलन सुरु गरेको छ ।

प्रदेश–२ सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले अविरल वर्षाका कारण कृषिमा पर्न गएको असर र क्षतिबारे तथ्यांक संकलन सुरु गरेको हो ।

बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा धानबाली, तरकारी र मत्स्यपालनमा वर्षाले क्षति पुर्‍याएकाले तथ्यांक संकलन सुरु गरिएको जानकारी गराइयो । किसानलाई राहत दिनको लागि प्रदेश सरकारले तथ्यांक संकलन सुरु गरेको बताइएको छ ।

“सबै जिल्लाबाट विवरण मगाएर तीनै तहका सरकारले सहकार्य गरी किसानलाई राहत उपलब्ध गराउनको लागि पहल गर्नुपर्छ,” पत्रकार सम्मेलनमा मन्त्री विजयकुमार यादवले भने, “बेमौसमी वर्षाको कारण किसानको लगानी र मिहिनेत खेर गएको छ । यसलाई मध्यनजर गर्दै प्रदेश सरकारले आवश्यक तयारी थालेको छ ।”

यो वर्ष प्रदेश–२ मा चाल लाख तीन हजार हेक्टरमा धान रोपाइँ गरिएको थियो । कात्तिक १ र २ गतेको अविरल वर्षाले काटेर घरमा भित्र्याउनलाई राखेको धान डुबेको छ । काट्न बाँकी रहेको धान खेतमै ढलेर कुहिने अवस्था आएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस