बौना दासलाई घरको साँचो हस्तान्तरण

सप्तरी, ४ कार्तिक । युवाहरुको पहलमा थालिएको तिलाठी कोइलाडी गाउँपालिका–८ का पूर्ण अपाङ्गता भएका ३७ वर्षीय बौना दासको घर निर्माण कार्य पूरा भएको छ । विहिवार आयोजना गरिएको एक कार्यक्रमका बीच तोपा बजार युथ, सप्तरी युथ नेपाल, सवल नेपाल र गाउँपालिकाको सहयोगमा निर्माण भएको सो घर हस्तान्तरण गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथी जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष एवम् सप्तरी क्षेत्र नम्वर २ का सांसद उपेन्द्र यादव, राष्ट्रियसभा सदस्य मृगेन्द्र प्रसाद यादव, प्रदेश २ का अर्थ मन्त्री शैलेन्द्र प्रसाद साह र प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले संयुक्त रुपमा दासलाई घरको साँचो हस्तान्तरण गरेका छन् ।

कार्यक्रममा बोल्दै अध्यक्ष यादवले युवाहरुद्वारा गरिएको कार्यको प्रशंसा गरेका छन् । ‘युवाहरुद्वारा गरिएको सामाजिक कार्य प्रशंसायोग्य छ’ उनले भने–‘गलत बाटोमा लागेर जीवन बर्वाद गरिरहेका युवाहरुलाई पनि यस्तो कार्यले पक्कै पनि प्रेरणा मिल्नेछ र सामाजिक रुपान्तरणमा टेवा पुग्नेछन् ।’
सोही कार्यक्रममा आमसञ्चार प्राधिकरण प्रदेश २ का अध्यक्ष श्यामसुन्दर यादवले युवाहरुद्वारा सामाजिक क्षेत्रमा थालिएको कार्यले खुशी लागेको बताए । ‘यहाँका केही युवाहरु कुलतमा लागेरमा आफु, घरपरिवार र सामाजलाई नै दुखित तुल्याइरहेको बेला यहाँका युवाहरुबाट भएको प्रयासले खुशी लागिरहेको छ’ उनले भने–‘सलाम छ यी युवाहरुलाई । जसले बौना दासजीको मात्रै होइन्, हाम्रो पनि अनुहारमा खुशी थपेको छ ।’

यस्तै सकारात्मक कार्यबाट अन्य युवाहरुले पनि सिक्ने एउटा पाठ बनेको छ घर निर्माण कार्य, उनले भने । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गौतमले युवाहरुको यस्तो कार्यमा सदैव साथ र सहयोग गर्ने प्रतिवद्धता जनाए ।

सप्तरी युथ नेपालका अमर यादवद्वारा सञ्चालन गरिएको कार्यक्रममा ई.संजिवनारायण यादवले समेत बोलेका थिए । तोपा बजार युथका अध्यक्ष कौसल यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा सप्तरी युथ नेपालका कोषाध्यक्ष विष्णु यादव, उपाध्यक्ष मोहन यादव लगायतको उपस्थिती थियो ।

सोही कार्यक्रममा प्रदेश २ का अर्थमन्त्री साहले दासलाई २१ हजार रुपैयाँ सहयोग समेत गरेको तोपा बजार युथले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस