आन्दोलनका नाममा अराजक गर्नेलाई उन्मुक्ति दिईदैनः मन्त्री साह

जनकपुरधाम, ४ कार्तिक । प्रदेश २ सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुरका निमित्त प्रमुख राजेश्वर कुशवाहामाथि भएको दुव्र्यवहार गर्नेलाई कडा कार्वाही हुने बताएका छन् ।

विहीबार राती उनले सामाजिक सञ्जाल मार्फत धारणा सार्वजनिक गर्दै गर्ने अराजक, उपद्रवी र निन्दनीय कार्यप्रति घोर भत्र्सना समेत गरेका छन् । सभ्य, सुसंस्कृत र संस्कारी समाजको परिकल्पना विपरीत अनुशासनहीन, असंयमित र आतंकपोषक आततायीहरूको अमानवीय तथा अवाञ्छित गतिविधिलाई किमार्थ स्वीकार गर्न नसकिने उल्लेख गर्दै मन्त्री साहले अगाडि भनेका छन् ‘व्यक्तिको अस्तित्व, आत्मसम्मान र मर्यादाको मानमर्दन हुने गरी आज भएको घटनामा संलग्नहरूमाथि कडा भन्दा कडा कार्वाही गर्न प्रदेश सरकारले सरोकारवालालाई निर्देशन दिएको छ ।’

घटना असह्य र चिन्ताजनक रहेको भन्दै यस्ता दुष्कार्यले अनाधिकृत र अवैधानिक संस्थाबाट अनुचित काम हुने जोखिम बढेको जनाईएको छ । उक्त घटनाले पाषाणयुगीन क्रुरतम न्याय पुनस्र्थापित गर्न खोजिएको भन्दै अगाडि भनिएको छ ‘जहाँ सही र गलत छुट्याउने विवेक शुन्य हुन्छ, राज्यमा हरेक समस्या समाधान गर्ने संस्था र संयन्त्र हुन्छन्, जसमाथि विश्वास र भरोसा गर्नुपर्ने हुन्छ तर, आज जसरी जनमत पार्टीका कार्यकर्ताहरूले कानुन हातमा लिएर कथित न्याय गर्ने नाममा सार्वजनिक आतङ्क मच्चाएका छन् ।’ यस्ता गतिविधिले पार्टी अधिनायकवादी, व्यक्तिपूजक, संकीर्ण अहंकारवादी र जनविरोधी रहेको प्रस्ट भएको भन्दै उक्त घटनामा संलग्न जोसुकैलाई पनि राजनीतिक वा सामाजिक आन्दोलनका नाममा उन्मुक्ति नदिइने मन्त्री साहले प्रतिवद्धता व्यक्त गरेका छन् । यस्ता गतिविधिबाट विचलित नहुन र आफ्नो मनोबल कमजोर नपार्न राष्ट्रसेवक कर्मचारीहरूसँग प्रदेश सरकारको तर्फबाट मन्त्री साहले आग्रह गरेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस