कोरोना महामारीले १ लाख ८० हजार स्वास्थ्यकर्मीको मृत्यु भएको हुन सक्ने डब्लुएचओको अनुमान

जनकपुरधाम । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना महामारीका कारण विश्वमा ८० हजारदेखि १ लाख ८० हजार स्वास्थ्यकर्मीको मृत्यु भएको हुनसक्ने अनुमान गरेको छ ।

कोभिड महामारीका कारण सन् २०२० को जनवरीदेखि सन् २०२१ को मेसम्ममा उक्त संख्यामा स्वास्थ्यकर्मीको ज्यान गएको हुनसक्ने डब्लुएचओले बताएको हो ।

हाल विश्वभर १३ करोड ५० लाख स्वास्थ्यकर्मी रहेको अनुमान छ । डब्लुएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले स्वास्थ्यकर्मीलाई कोभिड खोपका लागि प्राथमिकतामा राख्नुपर्ने बताए । खोपको अन्यायपूर्ण वितरणलाई लिएर उनले आलोचना पनि गरेका छन् ।

विश्वका १ सय १९ मुलुकबाट प्राप्त विवरणले विश्वभर औसतमा पाँचजना स्वास्थ्यकर्मीमध्ये दुई जनाले मात्रै कोभिड खोप लगाउन पाएको उनले बताए ।

यसअघि डब्लुएचओका अर्का वरिष्ठ अधिकारीले कोभिड खोपको कमिका कारण कोभिड महामारी अर्को वर्षसम्म लम्बिन सक्ने चेतावनी दिएका थिए ।

विपन्न मुलुकहरूले आफूलाई चाहिने कोभिड खोप नपाइरहेकाले कोभिड महामारी सोचेभन्दा एक वर्ष बढी समय रहन सक्ने चेतावनी डब्लुएचओका वरिष्ठ अधिकारी डा. ब्रुस एल्वर्डले दिएका थिए ।

गरिब देशले आवश्यकता अनुसारको खोप नपाउनु भनेको कोरोना भाइरसको महामारी सन् २०२२ सम्म सहज रुपमा लम्बिनु रहेको उनले बताएका हुन् ।

अहिलेसम्म अफ्रिकाको पाँच प्रतिशतभन्दा कम जनसंख्याले मात्रै कोभिड खोप पाएको छ । अरू अधिकांश महादेशमा ४० प्रतिशतले खोप पाइसकेका छन् ।

धनी देशले आफ्नो आवश्यकता भन्दा बढी खोप मौज्दात गरेका कारण उत्पादकहरूले कम आए भएका देशहरूलाई प्राथमिकता दिन नसकेको उनको भनाइ छ ।

Author:



क्याटोगरी छान्‍नुहोस