कक्षा ४, ५, ९ र १० को नयाँ पाठ्यक्रम स्वीकृत, कक्षा ९ देखि १२ मातृभाषामा पढ्न पाइने

काठमाडौं । अब कक्षा ९ देखि १२ मा मातृभाषाको पाठ्यपुस्तक पढ्न पाइने भएको छ । पाठ्यक्रम विकास केन्द्रले पाठ्यक्रम बनाउन पाउने र पढ्न पाउने गरी मार्ग खोलेको हो ।
राष्ट्रिय पाठ्यक्रम विकास तथा मुल्याङ्कन परिषदको बैठकले ऐच्छिक विषयसमेत मातृ भाषामा पठनपाठन गर्न पाइने गरी नियमावली संशोधन गरेको हो । बिहीबार बसेको परिषदको बैठकले ऐच्छिक विषयसमेत मातृभाषामा पठनपाठन गर्न पाइने बाटो खोलेको छ ।

नेपाल भाषा, मैथिली, भोजपुरी र अवधि गरी चार भाषामा अनिवार्य तथा ऐच्छिक विषयको पाठ्यक्रम बनिसकेको केन्द्रका महानिर्देशक अनप्रसाद न्यौपानेले जानकारी दिए ।

बालबालिकाले आधारभूत तहसम्म आफ्नो मातृभाषामा पढ्न पाउने व्यवस्थालाई नेपालको संविधान २०७२, शिक्षा ऐन तथा नियमावली, राष्ट्रिय पाठ्यक्रम प्रारूप २०६५, त्रिवर्षीय अन्तरिम योजना (२०६४–२०६७) स्थापित गरेको छ ।

अन्तर्राष्ट्रिय श्रम सङ्गठन महासन्धि सङ्ख्या १६९ नेपालको संसद्ले पारित गरेको छ । यसको धारा १८.१ मा ‘आदिबासी समुदायका बालबालिकाहरूलाई सम्भव भएसम्म उनीहरूको मातृ भाषामा लेखपढ गर्न सिकाइने छ’ भनिएको छ । नेपाल यस सन्धीको पक्षराष्ट्र हो ।
यस्तै, बालअधिकार सम्बन्धी अनुबन्ध (१९८९) मा नेपालले १४ सेप्टेम्बर १९९० मा हस्ताक्षर गरेको छ । यसको धारा ३० मा ‘जाति, धर्म वा भाषिक अल्पसङ्ख्यकहरू वा आदिवासी मूलका मानिसहरू बसोबास रहँदै आएको राज्यमा त्यस्ता अल्पसङ्ख्यकहरू वा आदिवासी बालबालिकालाई आफ्नै समुदायका अन्य सदस्यहरूसँग सामूहिक रूपमा आफ्नो संस्कृति अपनाउने, धर्मको पालन गर्ने र प्रयोग गर्ने वा आफ्नो भाषा प्रयोग गर्ने अधिकारबाट वञ्चित गर्न पाइने छैन’ भन्ने प्रावधान छ ।

०६८ को जनगणनाअनुसार नेपालमा १२३ ओटा भाषा बोलिन्छ । परिषदले कक्षा ४ र ५ को नयाँ पाठ्क्रम आगामी शैक्षिक सत्रमा मुलुकभर लागु गर्ने गरी स्वीकृत गरेको छ । सात विषयमध्ये ६ विषयको केन्द्रले पाठ्क्रम बनाइरहेको छ भने मातृभाषा या स्थानीय भाषाको विषय भने स्थानीय तहले बनाउने बताइएको छ । छ विषयहरु गणित, नेपाली, अंग्रेजी, स्वास्थ्य शारीरिक शिक्षा तथा सिर्जनात्मक कला, सामाजिक र विज्ञान तथा प्रविधि विषय रहेका छन् । यी विषयको पाठ्यक्रम स्वीकृत भएकाले पाठ्यपुस्तक बनाउने काम सुरु भएको केन्द्रले जनाएको छ ।

कक्षा ९ र १० को सबै अनिवार्य पाँच विषयको नयाँ पाठ्यक्रम स्वीकृत भएको छ । यी पाठ्यक्रम आउने वर्ष सबै विद्यालयमा लागु गरिने केन्द्रको योजना छ । प्राविधिक विषय अन्तर्गत नयाँ पाठ्यक्रम स्वीकृत भएको छ । छ वटा क्लस्टर अन्तर्गत विषय छुट्याएर पाठ्यपुस्तक परिमार्जन भइरहेको केन्द्रले जनाएको छ ।

केही मातृभाषा र धार्मिक प्रवृत्तिका विषय र भाषाको नयाँ पाठ्यक्रम स्वीकृत भएको छ । जसमा गुरुकूल, मदरसा, बुद्धिष्ट विद्यालय (विहार)सँग सम्बन्धित पाठ्यक्रम छन् । मदरसातर्फ ११ र १२ को विषयगत संरसचना मिलेको थिएन, त्यसको पनि मिलाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस