ग्लोबल बहुमुखी सहकारी संस्थाले गरे २५ करोडको कारोवार

राजविराज, ५ मंसिर। सप्तरीको राजविराजस्थित ग्लोबल बहुमुखी सहकारी संस्थाले गत आर्थिक वर्षमा २५ करोड रुपैयाँको कारोवार गरेको छ । संस्थाको आइतवार सम्पन्न २१ औं साधारणसभामा प्रस्तुत गरिएको प्रतिवेदनअनुसार २५ करोड १५ लाख ९५ हजार २३७ रुपैयाँको कारोवार गरेको हो ।

सोही आर्थिक वर्षमा संस्थाले १० लाख ३४ हजार ९३७ रुपैयाँ मुनाफा गरेको अध्यक्ष सुखराम यादवद्वारा प्रस्तुत गरिएको प्रतिवेदनमा उल्लेख छ । मुनाफामध्ये २ लाख ३१ हजार ३०९ रुपैयाँ शेयर लाभांश कोष गएको छ भने बाँकी अन्य कोषमा बाँडफाँड गरिएको प्रतिवेदनले देखाएको छ ।

प्रतिवेदनअनुसार संस्थाको २ करोड ५३ लाख २ सय शेयर पुँजी रहेको छ भने १० करोड ८१ लाख ४४ हजार ६११ रुपैयाँ निक्षेप संकलन गरेको छ ।

यसैगरी १० करोड ८५ लाख ६६ हजार १११ निक्षेप फिर्ता गरी १३ करोड ३४ लाख ६२ हजार २६८ रुपैयाँ ऋण लगानी रहेको प्रतिवेदनमा छ । महिला २० हजार ३६१ र पुरुष ६ हजार ४० गरी कुल २६ हजार ४०१ जना सदस्य रहेको संस्थालाई कोभिड–१९ महामारी नियन्त्रण गर्न सरकारले थालेको बन्दाबन्दीका कारण ठुलो मार खेप्नु परेको अध्यक्ष यादवले बताए ।

‘बन्दाबन्दीले संस्थाको कर्जा असुली अपेक्षित रुपमा हुन सकेन । जसले मुठिया बचत समूहहरु लगायत दैनिक बचतकर्ता साना व्यापारी व्यवसायीको भुक्तानी समयमा गर्न नसकिएकाले वित्तीय कारोवारमा प्रत्यक्ष असर पुगेको छ’ उनले भने–‘निक्षेप संकलन घटेको छ भने सदस्यहरुको संस्थाप्रति विश्वास गुमेको अवस्था सिर्जना हुन पुगेको छ । ती समस्यालाई समाधान गर्न कानूनी प्रक्रिया अघि बढेको छ ।’

आउँदो दिनमा कर्जा असुली गर्न संस्थाले नितिगत रुपमा कठोरत्तम कदम चाल्ने अध्यक्ष यादवको कथन छ ।

Author:



क्याटोगरी छान्‍नुहोस