सर्लाहीमा आगोले जलेर दिदीबहिनीसहित ३ जनाको मृत्यु, एक घाइते

सर्लाही, १ पुस। सर्लाहीको दुई स्थानमा आगलागी हुँदा एकै परिवारका दुई बालिकासहित तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । कविलासी नगरपालिका–७ सिर्सियामा एकै परिवारका दिदीबहिनीको मृत्यु भएको हो ।

गए राती विद्युत् सर्ट भएर घरमा आगलागी हुँदा जोगी महरा चमारकी छोरीहरु ८ वर्षीया लक्ष्मी कुमारी र ३ वर्षीया सोगन्धी कुमारीको मृत्यु भएको सर्लाहीका प्रहरी उपरीक्षक कृष्ण प्रसाईले बताए । जलेर गम्भीर घाइते भएका उनीहरुलाई जिल्ला अस्पताल मलङ्गवामा सामान्य उपचारपछि थप उपचारकालागि काठमाण्डौंतर्फ लैजाँदै बाटोमै मृत्यु भएको उनले बताए ।

आगलागीमा परेर जोगीकी अर्की ५ वर्षीया छोरी सुधा कुमारी पनि घाइते छिन् । सुधालाई उपचारपछि डिस्चार्ज गरिएको प्रहरी उपरीक्षक प्रसाईंले बताए ।

उता, मलङ्गवा नगरपालिका–६ खुटौनामा गए राति घुर बालेर ताप्ने क्रममा जलेर एक वृद्धको मृत्यु भएको छ । घुरको आगो सल्किएर गम्भीर घाइते भएका ७० वर्षीया नसिर खाँको उपचारको क्रममा विहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस