राष्ट्रिय पुनर्निर्माण प्राधिकरण खारेज

काठमाडौं, १० पुस । भूकम्पपछिको पुनर्निर्माण तथा पुनस्र्थापनाको जिम्मा पाएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्धारित समय र अतिरिक्त थप गरेको समयावधि सकिएसँगै खारेज भएको छ । प्राधिकरणले पुनर्निर्माण र पुनर्स्थापनासम्बन्धी कतिपय काम सम्पन्न गर्न भने सकेन । त्यस्ता अधुरा रहेका काम विभिन्न निकायलाई जिम्मा लगाइएको छ ।

प्राधिकरणले विद्यालय भवनतर्फ ७ हजार ५ सय ५३ विद्यालय भवनको पुनर्निर्माणको लक्ष्य राखेको थियो । प्राधिकरणका अनुसार ६ हजार ६ सय ४७ भवन मात्रै पुनर्निर्माण सम्पन्न भएको छ । अझै ९ सय ३६ विद्यालय भवन पुनर्निर्माण तथा पुनस्र्थापना बाँकी रहेको छ ।

१ हजार १ सय ९७ स्वास्थ्य संस्थानका भवन पुनर्निर्माण गर्नुपर्नेमा ७ सय ५१ वटाको मात्रै सम्पन्न भएको छ । अझै ३ सय ५४ भवनको पुनर्निर्माण हुन सकेको छैन । शिक्षा र स्वास्थ्यजस्तो महत्वपूर्ण क्षेत्रको पुनर्निर्माण गर्न नै प्राधिकरण असफल बनेको हो । स्वास्थ्य तथा शिक्षाभन्दा सरकारी भवनमा भने प्राधिकरणले अलिक बढी चासो देखाएको पाइएको छ । ४ सय १५ वटा सरकारी भवनको पुनर्निर्माण गर्नुपर्नेमा ३ सय ८८ वटाको सम्पन्न गरेको छ । २० वटाको मात्र बाँकी रहेको पाइएको छ ।

सांस्कृतिक सम्पदातर्फ ९ सय २० वटाको पुनर्निर्माण गर्नुपर्नेमा अझै २ सय ८८ वटाको पुनर्निर्माण बाँकी रहेको छ । सुरक्षा निकायतर्फ २ सय १६ वटा पुनर्निर्माण प्राधिकरणमार्फत गर्ने लक्ष्य लिएकोमा सबै पूरा भएको प्राधिकरणले जनाएको छ । ४० लाख नागरिकसँग सरोकार जोडिने काठमाडौं परिसर भने अहिले पनि टेकुमा पाल टाँगेर बस्दै आएको छ ।

आवास पुनर्निर्माणतर्फ पनि झन्डै डेढ लाखको काम सम्पन्न हुन बाँकी रहेको पाइएको छ । पुनर्निर्माण लाभग्राहीका लागि अनुदान सम्झौतामा ८ लाख २९ हजार ६६७ ले सम्झौता गरेकोमा तेस्रो किस्ता लिनेको संख्या ७ लाख ३ हजार ३ सय ७ मात्रै रहेको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भने यस अवधिमा उल्लेखनीय उपलब्धि हासिल गरेको बताएका छन् । राजधानी दैनिकमा समाचार छ।

Author:



क्याटोगरी छान्‍नुहोस