जंगेको सहायताले थालियो अनुसन्धान (हत्या अपडेट)

राजविराज, १२ पुस। सप्तरीमा भएको हत्या घटनामा प्रहरीले तालिम प्राप्त कुकुर (जंगे) को सहायताले सुक्ष्म अनुसन्धान अघि बढाएको छ ।

हिजो (आइतवार) साँझ घरबाट खरानी बोकेर खेत पुगेकी छिन्नमस्ता गाउँपालिका–१ बरही विरपुरकी ५० वर्षीया भुतनीदेवी यादवको घाँटी रेटी हत्या भएको थियो ।

टाउकोमा वियरको बोतल पनि प्रहार गरिएको अवस्थामा यादवको शव आज (सोमवार) विहान भेटिएको हो । रातिदेखि नै खोजतलास गर्ने क्रममा सोमवार विहान खेतमै उनी मृत अवस्थामा भेटिएपछि प्रहरीलाई जानकारी गराइएको मृतकका पति जमाहिर यादवले बताए ।

घटनासँगै तालिम प्राप्त कुकुरको सहायताले प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयका टोलीले सुक्ष्म अनुसन्धान थालिएको सप्तरी प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले बताए । ‘घटनामा सुक्ष्म अनुसन्धान अघि बढाएका छौं’, उनले भने ।

यसअघि गत मंसिर ८ गते पनि सोही गाउँपालिका–६ खुदिबखारीमा ८१ वर्षीय वृद्धको पनि घाँटी रेटि हत्या गरिएको थियो । सो हत्या घटना रहस्यमै रहेको अवस्थामा पुनः अर्को सोही प्रकृति घटना हुनुले स्थानीय त्रसित बनेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस