सिरहामा निषेधाज्ञाः यी क्षेत्रमा हिडडुल गर्न नपाइने

लहान, १३ पुस । सिरहा प्रशासनले पूर्व पश्चिम राजमार्ग र सिरहा–चोहर्वा सडकखण्डमा आजदेखि निषेधाज्ञा जारी गरेको छ । केही दिनयता जनमत पार्टीले गर्दै आएको आमहडतालले सर्वसाधारणलाई हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै भोली (बुधवार)सम्मकालागि निषेधाज्ञा जारी गरिएको हो ।

विहान ५ बजेदेखि साँझ ७ बजेसम्म पूर्वमा बलान नदीदेखि पश्चिममा कमला नदीसम्मको राष्ट्रिय लोकमार्ग र चोहर्वादेखि सिरहा सडक खण्डको पिकेराज इन्टरप्राईजेज (पेट्रोल पम्पसम्म) ५ सय मिटर आसपासका क्षेत्रसम्म निषेधाज्ञाको क्षेत्र तोकिएको छ ।

राष्ट्रिय लोकमार्ग र सिरहा चोहर्वा सडकखण्डमा यातायात सुचारु रहनेछ भने बाहिर हिडडुल गर्न, भेला हुन तथा राजनीतिक सभा र गतिविधि गर्न नपाउने प्रमुख जिल्ला अधिकारी लालबाबु कबारीले बताए ।
निषेधाज्ञा उल्लंघन गर्नेलाई कानूनअनुसार कारबाही गर्ने चेतावनी समेत दिइएको छ ।

जिल्लाको औरही गाउँपालिकाले किसानलाई वितरण गर्न भन्दै स्थानीय स्वास्थ्य चौकीमा राखेको गहुँको बीउ वितरण गर्न ढिलाई गरेको भन्दै केही किसानले आफैं लिएर गएका थिए । प्रहरीले गहुँ लुटेको आरोपमा ४ जनाविरुद्ध मुद्दा नै दायर गरेपछि किसान र जनमत पार्टी आन्दोलित छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस