दलितको पहुँच बढाउन निर्वाचन क्षेत्र आरक्षित हुनुपर्छः उपेन्द्र

जनकपुरधाम, १७ मंसिर । जनता समाजवादी पार्टी नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले सदियौंदेखि उपेक्षित दलित समुदायको समग्र उत्थानकालागि राजनीतिमा पहुँच हुनुपर्ने आवश्यकता औंल्याएका छन् ।

धनुषाको जनकपुरधाममा शनिवार आयोजित समाजवादी दलित मुक्ति संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । निर्वाचन अत्यन्तै महँगो हुँदै गएकोले दलित समुदायको पहुँच त्यति सहज नरहेकोले उनीहरुका लागि दलित निर्वाचन क्षेत्र आरक्षित हुनुपर्ने धारणा अघि सारेका छन् ।

दलित समुदाय बीच विभेद र असमान्ता हटेमा मात्र समानता हुन सक्ने बताउँदै अध्यक्ष यादवले भने ‘विभेद र असमानता हटाउनका लागि पनि मधेश आन्दोलन भयो, केही अधिकार प्राप्त भए पनि धेरै थोक पाउन अझैं बाँकी छ ।’ अहिले पनि दलित भएकै कारण विभेदकारी राज्यसत्ताबाट न्याय पाउनबाट वञ्चित रहँदैआएको बताउँदै उनले सरकारी तथा राजनीति क्षेत्रमा प्रतिनिधित्व गर्न पाएमा मात्र न्यायका लागि लड्न सक्ने तर्क गरे ।

दलितहरुको समृद्धिका लागि शिक्षा र रोजगारी महत्वपूर्ण रहेको र यो दायित्व राज्यले निर्वाह गर्नुपर्ने बताउँदै अध्यक्ष यादवले भने ‘दलित समुदायमै सबभन्दा महिला हिंसा भएको र असुक्षित महसुस गरेका छन्, तर राज्यले जुन प्रकारको सुरक्षा प्रत्याभूति गराउनुपर्नेमा कमीकमजोरी देखिएको छ ।’ दलित समुदायको बालबालिकालाई राम्रो शिक्षा दिलाउने राज्यको कर्तव्य हो उनले थपे ‘दलित समुदायहरु एकजुट भएर अगाडि बढेमा आफ्नो अधिकार सुनिश्चित गर्न सक्छ ।’

प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले दलित समुदाय हरेक किसिमबाट समाजमा उत्पीडिनमा विभेदमा परेको बताएका छन् । यसको कारण दलित समुदायमा एकता र शिक्षाको अभाव रहेको बताए ।
मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ ले ल्याएको दलित सशक्तिकरण वर्तमान अवस्थामा नदेखिएपनि यसले दिर्घकालिन रुपमा दलित समुदाय समृद्धिमा ठूलो योगदान पुर्याउने बताए । पालिकादेखि लिएर प्रदेशको हरेक निकायका साथै प्रशासनिक क्षेत्रमा पनि जनसंख्याको आधारमा उनीहरुको सहभागिता हुने दावी गरेका छन् ।

समाजवादी दलित मुक्ति संगठनका अध्यक्ष खिमबहादुर विश्वकर्माको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रदेश साँसद एवं प्रदेशका पूर्व मन्त्री ज्ञानेन्द्र कुमार यादव, चमेली देवी दास, जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह सहितका नेता तथा कार्यकर्ताहरुले सम्बोधन गरेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस