राष्ट्रिय सभाको निर्वाचनमा दुई हजार २५ जना मतदाता

काठमाडौं, १८ पुस । सातवटै प्रदेशका निर्वाचन अधिकृतको कार्यालयले जारी गरेको मतदाता नामावलीमा कुनै दाबी विरोध र उजुरी नपरेपछि राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि दुई हजार २५ जना मतदाता कायम हुने भएका छन् ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचन अधिकृतको कार्यालयले प्रकाशन गरे को मतदाता नामावलीपछि नाम, थर सच्याउन र नामावलीउपर दाबी विरोध गर्न तय गरेको समयसीमाभित्र कुनै निवेदन वा दाबी विरोध नपरेकाले मतदाताको संख्या एकिन भएको जनाएका छन्।

सातवटै प्रदेशमा स्थापित निर्वाचन अधिकृतको कार्यालयले शनिबार बिहान १० बजे मतदाता नामावली प्रकाशन गरेको थियो । बिहान ११ बजे देखि अपराह्न ४ बजेसम्म दाबी विरोध र नाम सच्याउन निवेदन आह्वान गरिएकोमा कुनै निवेदन परेन । राष्ट्रिय सभा निर्वाचनका लागि स्थापना गरिएको सातवटै प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा मङ्गलबार उम्मेदवारी दर्ता हुँदैछ ।

निर्वाचनमा प्रदेश १ मा राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि ३६४ जना मतदाता, प्रदेश २ का ३७२, बागमती प्रदेशका ३४६, गण्डकी प्रदेशका २२९, लुम्बिनी प्रदेशका २९६, कर्णाली प्रदेशका १९१ र सुदूरपश्चिमका २२७ जना मतदाताले मतदान गर्ने आजको गोरखापत्र दैनिकमा खवर छ ।

Author:



क्याटोगरी छान्‍नुहोस