सप्तरीमा बढ्दो ठण्डीः एकको मृत्यु, विपन्नको जनजीवन कष्टकर

राजविराज, २० पुस । साता दिनयता तराई मधेशका जिल्लामा बढेको शितलहरका कारण सप्तरीमा सोमवार विहान एक जनाको मृत्यु भएको छ ।

महादेवा गाउँपालिका–४ का देवनारायण ठाकुरको हिजो (सोमवार) विहानै शितलहरका कारण मृत्यु भएको गाउँपालिकाकी उपाध्यक्ष ममताकुमारी यादवले जानकारी दिइन् ।

राति खाना खाएर औछ्यानमा सुतेका ६५ वर्षीय ठाकुर चिसो लागेर मृत्यु भएको उनले मधेशलाइभलाई बताइन् । विहान अवेरसम्म औछ्यानबाट नउठेपछि परिवारजनले सोधखोज गर्दा सोबारे जानकारी भएको हो ।

यता, जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले ठाकुरको मृत्युबारे पुष्टि गर्दै चिसोकै कारणले मृत्यु भएको हो वा होइन भन्ने विषयमा बुझ्ने कार्य भइरहेको बताए ।

साता दिनयता बढ्दो शितलहरले जिल्लाका विपन्न वर्गको जनजीवन कष्ठकर हुन पुगेको छ । यद्यपी, चिसोबाट सर्वसाधारणलाई जोगाउन अझैं ठोस पहल नथालिएको नागरिक अगुवाहरुको भनाई छ ।

सप्तरीमा शिलतहरबाट यस वर्ष ५० हजार व्यक्ति प्रभावित हुनसक्ने जिल्ला विपद् व्यवस्थापन समितिले तयार पारेको ‘शितलहर आकस्मिक योजना २०७८’मा उल्लेख छ ।

Author:



क्याटोगरी छान्‍नुहोस