लोकेन्द्र स्मृति पत्रकारिता पुरस्कारः स्थगित गर्नुको कारण सार्वजनिक गर्न माग

राजविराज, २७ पुस । नेपाल पत्रकार महासंघ सप्तरीद्वारा स्वर्गीय पत्रकार लोकेन्द्र बुढाथोकीको स्मृतिमा स्थापना गरिएको २८ औं लोकेन्द्र स्मृति पत्रकारिता पुरस्कार वितरण स्थगित गर्नुको कारण सार्वजनिक गर्न आवेदकहरुले माग गरेका छन् ।

पुरस्कारका लागि आवेदन पेश गरेका पत्रकारहरु सौरभ यादव, प्रियासिंह थारु (पार्वती), नानिमैया कटुवाल र रामनाथ यादवले मंगलबार संयुक्त प्रेस विज्ञाप्ति जारी गर्दै पुरस्कार वितरण स्थगित गर्नुको कारण सार्वजनिक गर्न माग गरेका हुन् । विज्ञाप्तिमा भनिएको छ, ‘के कुन नियम कानुन र मापदण्डको आधारमा यस बर्ष पुरस्कार वितरण नगरिएको हो?’

सो कार्यले आवेदकहरुको क्षमता र योग्यतामाथि नै अनावश्यक प्रश्न खडा गर्ने कार्य भएको भन्दै पुरस्कारको गरिमालाई समेत अवमुल्यन गरिएको विज्ञप्तिमा ठहर गरिएको छ ।

‘शुरुदेखि नै चलन चलती र एउटा प्रचलनको आधारमा वर्षैनी सप्तरी कार्य क्षेत्र वनाएर पत्रकारिता गर्ने एक जनालाई पुरस्कृत गर्ने कार्यलाई महासंघले निर्विवाद रुपमा निरन्तरता दिँदै आएको हो । यद्यपि, वर्षौ पुरानो परम्परालाई तोडिनुको औचित्य हामी आवेदक र आम पत्रकारहरुले बुझ्न सकेको छैन्’ विज्ञप्तिमा भनिएको छ, ‘हामी आवेदकहरु अयोग्य भयौ वा पुरस्कार बाड्न नसक्ने महासंघ शाखा सप्तरी नेतृत्व यसबारे वृहत छलफलको खाँचो छ.। किन भने महासंघ हामी पत्रकारहरुको साझा संस्था हो र यसको सम्मानका निम्ती हामी सबैलाई सजग वन्नु पर्ने खाँचो छ ।’

आवेदकहरुले फायल अध्ययन गर्न शाखा पुर्व अध्यक्ष र वरिष्ठ पत्रकारहरुको टोली बनाउन समेत आग्रह गरेका छन् ।

‘हामी आवेदकहरुको फाइल अध्ययनका निम्ती शाखाका पूर्व अध्यक्ष र वरिष्ठ पत्रकारहरु सम्मिलित टोली बनाईयोस् र पछिल्लो वर्षहरुको नजिरको आधारमा हाम्रो फायल पनि अध्ययन गरियोस् भने सादर अनुरोध नेपाल पत्रकार महासंघ शाखा सप्तरी नेतृत्व समक्ष यसै विज्ञप्ति मार्फत गर्न चाहन्छु’, विज्ञप्तिमा भनिएको छ ।

स्वर्गीय पत्रकार लोकेन्द्र बुढाथोकी प्रति विज्ञाप्तिमा श्रद्धाञ्जली समेत अर्पण गरिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस