संविधानबमोजिम नै स्थानीय तहको निर्वाचन

काठमाडौं, ५ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानमा तोकिएको मितिभित्र स्थानीय तहको निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको बताए । प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलबार बसेको सत्तारूढ गठबन्धन दलका शीर्ष नेताहरूको बैठकमा प्रधानमन्त्री देउवाले सङ्घीयतालाई सबल र सफल बनाउन सरकार संविधानमा भएको व्यवस्थाअनुसार निर्वाचन गर्न लागिरहेको बताए । बैठकमा राष्ट्रिय सभाको चुनाव तथा स्थानीय तहको निर्वाचन तथा राष्ट्रिय निर्वाचनको तयारीमा छलफल भएको थियो ।

सो बैठकमा संविधानबमोजिम नै स्थानीय तहको निर्वाचन गर्ने सहमति पनि भएको छ । निर्वाचनको मिति भने दलहरूका आन्तरिक बैठकमा थप छलफल तथा तयारीपछि तय गर्ने गरी अर्को बैठक बस्ने पनि निर्णय भएको छ । बैठकपछि सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संविधानले गरेको व्यवस्थाभित्रै निर्वाचन सम्पन्न गर्न दलहरूबीच सहमति भएको जानकारी दिए ।

उनका अनुसार यस विषयमा दलहरूबीच थप गृहकार्य गरेर बैठक बस्ने भएको छ । उनले भने, “सङ्घीयतालाई बलियो पार्न संविधानले तोकेबमोजिमको समयमा निर्वाचन गराई स्थानीय सेवा प्रवाह गर्ने कुरामा हामी सचेत छौँ । त्यस कारण समयमै स्थानीय तहको निर्वाचन सम्पन्न हुन्छ ।”

मन्त्री कार्कीका अनुसार निर्वाचनका विषयमा सरकारले निर्वाचन आयोगसँग पनि निरन्तर परामर्श गरिरहेको छ, यस विषयमा सरकारले चाँडै निर्णय लिनेछ । बैठकपछि नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का नेता देवप्रसाद गुरुङले पनि संवैधानिक व्यवस्थाअनुसार निर्वाचन सम्पन्न गर्ने विषयमा दलहरूबीच सहमति भएको बताए ।

निर्वाचन आयोगले भने आगामी वैशाख १४ र २२ गते स्थानीय तहको निर्वाचन गर्नुपर्ने सुझाव सरकारलाई दिएको छ । निर्वाचन आयोगका पदाधिकारीहरूले यसअघि प्रधानमन्त्री देउवालाई भेटेर स्थानीय तह निर्वाचन गर्ने तयारीका बारेमा आयोगको तयारीबारे अवगत गराइसकेका छन् । गोरखापत्र दैनिकबाट

Author:



क्याटोगरी छान्‍नुहोस