शहिदकै बलिदानीले पहिचानसहितको मधेश प्रदेशः मुख्यमन्त्री राउत

राजविराज, ५ माघ । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले आन्दोलनमा शहिदहरुले दिएको बलिदानीले नै संघीयता र पहिचानसहितको ‘मधेश प्रदेश’ पाएको बताएका छन् ।

सप्तरीको राजविराजमा बुधवार आयोजना गरिएको ‘चौथो बलिदानी दिवस २०७८ को अवसरमा मधेश आन्दोलनका शहिद परिवार एवम् घाइते प्रति सम्मान कार्यक्रम’मा बोल्दै उनले यस्तो बताएका हुन् । आन्दोलनले नै आएको संघीयताले पछाडी पारिएका समूदायले अधिकार प्राप्तितर्फ उन्मुख रहेको भन्दै मन्त्री राउतले शहिदहरुले देखेका सपनाहरु पनि चरणवद्ध रुपमा पूरा हुँदै गएको बताए ।

मुख्यमन्त्री राउतले यहाँका जनताले पहिचानसहितको प्रदेश पाएसकेकाले जनताको हकअधिकार सुनिश्तिताकालागि अबको दिनमा संविधान संशोधन गराउने दिसामा नै आफुहरु लागेको बताए ।

आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत साहको अध्यक्षतामा आयोजित कार्यक्रममा अर्थमन्त्री शैलेन्द्रप्रसाद साह, राष्ट्रियसभा सदस्य मृगेन्द्रकुमार सिंह यादव, जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेशका अध्यक्ष रामबाबु कुमार यादव, पूर्व मन्त्री एवम् नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष उमेशकुमार यादव, जसपा सप्तरीका अध्यक्ष केदारप्रसाद यादव लगायतले शहिदहरुको योगदानलाई चर्चा गर्दै श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

आमसञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादवले सञ्चालन गरेको कार्यक्रममा राजविराज नगरपालिकाका नगर प्रमुख शम्भुप्रसाद यादवले स्वागत मन्तव्य दिएका थिए ।

शहिद परिवार र घाइतेलाई सहयोग र सम्मान

सोही कार्यक्रममा मधेश प्रदेश सरकारले मधेश आन्दोलनका शहिद परिवार एवम् घाइेतहरुलाई आर्थिक सहयोगसहित सम्मान गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका मुख्यमन्त्री राउतले उनीहरुलाई आर्थिक सहयोगसहित सम्मान पत्र प्रदान गरेका हुन् ।

मुख्यमन्त्री राउतले मधेश आन्दोलनमा बलिदानी दिएका ५९ शहिद परिवारलाई ३–३ लाखका दरले आर्थिक सहयोगसहित सम्मान गरेका छन् भने ८६ जना आन्दोलनका घाइतेहरुलाई समेत २५ हजारदेखि ३ लाख रुपैयाँसम्म सहयोग गरिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस