जनकपुरधाम । डा. सीके राउत नेतृत्वको जनमत पार्टीका नेता–कार्यकर्ताहरूले आज बिहानैदेखि जनकपुरधाममा प्रदर्शन गरिरहेका छन् ।
बिहान करिब सवा १० बजे राष्ट्रियसभा सदस्य निर्वाचनको मतदान केन्द्र जाने बाटोमा प्रवेश गर्न खोज्दा प्रहरी र प्रदर्शनकारीबीच झडप समेत भएको थियो ।
प्रहरीले स्थिति नियन्त्रणमा लिन १८ सेल अश्रुग्यास प्रहार गरेको धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।
उनका अनुसार प्रदर्शनकारीहरू मतदान बिथोल्ने हिसाबले उक्त बाटोमा प्रवेश गर्न खोज्दा सुरक्षाकर्मीले अर्को बाटोमा जान अनुरोध गरेको थियो । सो क्रमममा सामान्य झडप भएको थियो ।
प्रहरीले लाठीचार्ज पनि गरेको प्रदर्शनकारीहरूले बताएका छन् । अहिले स्थिति सामान्य भइसके पनि अर्को ठाउँमा उनीहरूले प्रदर्शन जारी राखेका छन् ।