रुसी हमलामा दुई हजार गैरसैनिक मारिए

रुसले युक्रेनमा गरेको हमलामा दुई हजार गैरसैनिक मारिएका छन्। युक्रेनी अधिकारीले रुसी हमलाबाट दुई हजार गैरसैनिकको ज्यान गएको बुधबार जनाएका हुन्। रुसले युक्रेनमा हमला गरेको एक साता पुगेको छ।

रुसी हमलामा १० जना उद्धारकर्ता पनि मारिएको युक्रेनको आपत्कालीन सेवालाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। एक साताको अवधिमा रुसले सयौं यातायात केन्द्र, आवासीय भवन, अस्पताल तथा किन्डरगार्डेनहरूमा हमला गरेको युक्रेनले जनाएको छ।

युक्रेनी सेनाले रुसी हमलाको प्रतिवाद गरिरहेको समाचारमा उल्लेख छ। युक्रेनको उत्तर, दक्षिण र पश्चिमी भागमा भिडन्त भइरहेको र रुसी सेनाले युक्रेनका मुख्य सहरहरू खार्किभ र खेर्सनमा पनि तोपमार्फत आक्रमण गरिरहेको बिबिसीले जनाएको छ। रुसी सेनाले बुधबार खार्किभको पुलिस मुख्यालय र विश्वविद्यालय भवनलाई लक्षित गरी क्षेप्यास्त्र प्रहार गरिरहेको छ।

रुसी सेनाले खेर्सनको रणनीतिक ब्ल्याक सी बन्दरगाह नियन्त्रणमा लिएको दाबी गरेको छ भने युक्रेनी अधिकारीले उक्त बन्दरगाह आफ्नै नियन्त्रणमा रहेको जनाएका छन्। राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रुसले युक्रेनको इतिहास मेटाउन खोजेको आरोप लगाएका छन्।

रुसी राष्ट्रपति कार्यालयका प्रवक्ताले रुस र युक्रेनबीच बुधबार बेलुका पुनः शान्तिवार्ता हुने जनाएका छन्। ‘हाम्रो प्रतिनिधिमण्डल वार्तालाई निरन्तरता दिन तयार हुनेछ,’ प्रवक्ता दिमित्री पेस्कोभले भनेका छन्। यसअघि पहिलो चरणमा भएको वार्ता सफल हुन सकेको थिएन। दोस्रो चरणको वार्ता कहाँ हुने भन्ने निश्चित भइसकेको छैन।

Author:



क्याटोगरी छान्‍नुहोस