उत्पीडित र अल्पसंख्यकको हकअधिकार स्थापित गराउन जसपा अग्रसरः मुख्यमन्त्री राउत

महोत्तरी । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले उत्पीडित र अल्पसंख्यक समुदायको हकअधिकार स्थापित गराउन अग्रसर रहेको जनता समाजवादी पार्टी (जसपा)को विकल्प अन्य पार्टी नहुने बताएका छन् । जसपा महोत्तरीले मंगलबार एकडारा गाँउपालिकामा आयोजना गरेको पार्टी कार्यालय उद्घाटन तथा पार्टी प्रवेश कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले उत्पीडित र अल्पसंख्यक समुदायकालागि प्रदेश सरकारले ल्याएको योजनाहरुबाट यहाँका अल्पसंख्यक उत्पीडितहरु प्रत्यक्ष लाभान्वित भइरहेको बताए । ‘प्रदेश सरकारको आरक्षण व्यवस्थाले सदियौंदेखि उत्पिडन सहदै आएका समुदायलाई राज्यको मुल धारमा ल्याउन कोसे ढुंगा सावित हुने विश्वास छ’ उनले भने–‘मधेश आन्दोलनबाट प्राप्त उपलब्धीहरुको रक्षाकोलागि उत्पीडित समुदायको हकहित स्थापित गराउन अग्रसर जसपाको विकल्प अन्य पार्टी हुनसक्दैन् ।’

मुख्यमन्त्री राउतले आसन्न स्थानीय तहको निर्वाचनमा मधेशका जनता जसपाका उम्मेदवारलाई भारी मतले जिताउनेमा आफु विश्वस्त रहेको दावी गरे । उनले स्वास्थ्य र शिक्षामा पछि रहेको यस प्रदेशलाई माथि उठाउन प्रदेश सरकारले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान जनकपुर, कृषि विश्वविद्यालय राजविराज र विज्ञान तथा प्रविधि विश्वविद्यालय विरगंजको स्थापना गरेर अघि बढिसकेको उल्लेख गर्दै यसको प्रतिफल ५/७ वर्षपछि सतहमा देखिने स्पष्ट गरे ।

सो कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सयौं नेताकार्यकर्ता जसपामा प्रवेश गरेका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस