निर्वाचन टार्न ‘कलात्मक षड्यन्त्र’ भइरहेको छ : एमाले

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिस्ट पार्टी एमालेले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन हुनेमा आशंका जनाएको छ । सत्ता गठबन्धन अझै निर्वाचन नगराउने षड्यन्त्र गरिरहेको आरोप लगाउँदै एमालेले निर्वाचन टार्न ‘कलात्मक षड्यन्त्र’ भइरहेको निष्कर्ष निकालेको छ ।

सोमबार बसेको पार्टी पोटिब्युरोको पहिलो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धन र निर्वाचन आयोगबीच कतिपय संवैधानिक एवं राजनीतिक कुरा भइरहेको टिप्पणी गर्दै विभिन्न बहानामा आफ्नो पार्टीविरुद्ध षड्यन्त्र भइरहेको बताए ।

अध्यक्ष ओलीले स्थानीय निर्वाचनमा भरतपुर र सिरहा काण्ड दोहोरिन सक्ने आशंका व्यक्त गर्दै निर्वाचन आयोगसमेत सत्ता गठबन्धनसँग मिलेर एमालेविरुद्ध लागेको आरोप लगाए । उनले भने– ‘यसपटक हामी मतपेटिका आँखाबाट ओझेल गर्न मञ्जुर गर्दैनौं । काउन्टिङ अन्त्य नभएसम्म अन्तिमसम्म मतपेटिका हाम्रो आँखाअगाडि हुनुपर्छ । विश्वास गर्नुस् भन्ने कुरा हुँदैन । विश्वासको कुराले हुने भए गोप्य मतदान नै किन चाहिन्थ्यो ?’

एमालेको पोलिटब्युरो बैठकमा बामपन्थी पार्टीबीच एकताको प्रस्तावले तरंग ल्याएको छ । स्थायी समिति सदस्य घनश्याम भुसाल र रघुजी पन्तले वामपन्थी एकताको प्रस्तावअघि सारेसँगै बैठकमा नेताहरूले उक्त प्रस्तावको प्रतिवादसमेत गरेका छन् । १० बुँदे सहमति गरेर नेकपा एमालेमा रहने समूहका नेता तथा तत्कालीन कार्यदलका सदस्य भुसाल र पन्तले बैठकमा अध्यक्ष ओलीलाई वामपन्थी एकताको पहल लिन आग्रह गरेका थिए । नेपाल समाचारपत्रबाट

Author:



क्याटोगरी छान्‍नुहोस