जसपाको दावी–नेकपा एमालेका कार्यकर्ताबाट सांसद साहमाथि साङ्घातिक हमला

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय सदस्य एवम् संसदीय दलका प्रमुख सचेतक समेत रहेका संघीय सांसद प्रमोद साहमाथि नेकपा एमालेका कार्यकर्ताहरुले साङ्घातिक हमला गरेको दावी गरेको छ ।

जसपा केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले शनिवार विज्ञप्ति जारी गर्दै सुनियोजित ढंगले गरिएको आक्रमणबाट जसपाका दर्जनौं कार्यकर्ताहरु घाइते भएको भन्दै घटनाको भत्र्सना गरेका हुन् । ‘मिति ०७८ साल चैत १२ गते विहान सर्लाहीको इश्वरपुर नगरपालिकामा नेकपा एमालेका कार्यकर्ताहरुले जसपाका केन्द्रीय सदस्य एवम् पार्टीका संसदीय दलका प्रमुख सचेतक मा.प्रमोद साहलाई साङ्घातिक हमला गरी गम्भीर घाइते बनाएका छन्’ विज्ञप्तिमा भनिएको छ, ‘पार्टीको कामको सिलसिलामा गृह जिल्ला पुग्नुभएका मा.साहमाथि सुनियोजित ढंगबाट आक्रमण गरी घटना घटाइ उहाँ लगायत दर्जनौं कार्यकर्ताहरु घाइते हुने गरी भएको निन्दनीय कार्यको जसपा घोर भत्र्सना गर्दछ ।’

विज्ञप्तिमा नेकपा एमाले यस्ता घृणित र अपराधिक क्रियाकलाप बन्द नगरे यसबाट उत्पन्न हुने परिणामको जिम्मेवारी एमाले नै हुने उल्लेख गरिएको छ । साथै सो घटनाका दोषीमाथि अविलम्ब कडाभन्दा कडा कारवाही गर्न तथा शान्ति सुरक्षाको प्रत्याभूति हुने गरी काम गर्न सरकारसँग माग समेत गरिएको छ ।

‘घटनामा माननीय साह लगायत घाइते हुनुभएका सम्पूर्णमा सिघ्र स्वास्थ्य लाभको कामना गर्दछौ र यहाँहरुको उचित स्वास्थ्य उपचारको व्यवस्था मिलाउन सरकारसँग जोडदार माग गर्दछ’, विज्ञप्तिमा उल्लेख छ ।

Author:



क्याटोगरी छान्‍नुहोस