बोदे बरसाइन–३ को मत गणनामा धांधली भएको भन्दै प्रदर्शन

सप्तरी । स्थानीय तह निर्वाचन अन्तर्गत बोदे बरसाईन नगरपालिका वडा नम्वर ३ वडा अध्यक्ष पदको
मत गणनामा धांधली भएको भन्दै नेकपा माओवादी केन्द्रले मंगलबार विरोध प्रदर्शन गरेको छ ।

सो वडाको मत परिणाम विहान सार्वजनिक भएको थियो । जसअनुसार वडा अध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार १ मतको मतान्तरले निर्वाचित भएका थिए । कांग्रेसका शिवनारायण यादवले ६ सय मत ल्याएका छन् भने माओवादी केन्द्रका उम्मेदवार भुवनेश्वर यादवले ५९९ मत ल्याएका हुन् ।

निर्वाचन अधिकृतको कार्यालयले धांधली गरेर १ मतले कांग्रेसलाई जिताएको उम्मेदवार यादवले आरोप लगाए । ‘अन्तिम समयमा मतगणना हुँदा देखादेख नै गणकहरुले धांधली गरे’ उनले भने–‘मेरोमा स्वस्तिक छाप लागेको हुँदा समेत बदर गरेर कांग्रेसलाई जिताए ।’

उनले पुनः मत गणनाको निवेदन दिँदा समेत लिन अनाकानी गर्दै आएको गुनासो गरे । ‘निवेदनसम्म लिन मानेको छैन, निष्पक्ष रुपमा पुनः मत गणना हुनुपर्छ ।’, उनले मधेशलाइभसँग भने ।

उता, निर्वाचन अधिकृत तोमनाथ उप्रेतीले मत गणना निष्पक्ष रुपमा भएको दावी गरे । ‘सम्भवतः नेपालमै पहिलो नै होला । सो वडामा हामीले घोषणाअघि ७ पटकसम्म पनि रि–गणना गरे’ उनले भने–‘आवद्ध सबै जसो राजनीतिक दलका प्रतिनिधिसमक्ष सो रि–गणना भयो र घोषणा गरे । यो सबै प्रक्रिया निष्पक्ष भएको छ ।’

Author:



क्याटोगरी छान्‍नुहोस