सुन्दर हरिजन मृत्यु घटनाः आयोगको ध्यानाकर्षण, अनुसन्धान सुरु

जनकपुरधाम, २० जेठ । राष्ट्रिय मानव अधिकार आयोगले रोल्पा जिल्ला कारागारमा सट्टा कैदीबन्दीको रुपमा कैद सजाय भोगिरहेका बाँकेको नेपालगन्ज–२ का सुन्दर हरिजन मृत्यु घटनामा अनुसन्धान सुरु गरेको छ ।

आयोगका प्रवक्ता टीकाराम पोखरेलले विज्ञप्ति जारी गर्दै घटनाका विषयमा बिहीबारदेखि आयोगले स्थलगत रुपमा अध्ययन र अनुसन्धान थालेको जानकारी दिए ।

‘सुन्दर हरिजन रोल्पा जिल्ला कारागारमा सट्टा कैदीबन्दीको रुपमा जेल सजाय भोगिरहेको अवस्थामा जेठ ४ गते मृत्यु भएको घटना प्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको छ।’ विज्ञप्तिमा भनिएको छ, ‘आयोगको नेपालगन्ज कार्यालयको टोलीले विहिबारदेखि घटना सम्बन्धनमा स्थलगत अनुसन्धान सुरु गरेको छ ।’

घटनाको विषयमा आयोगले संवेदनशील रुपमा लिई स्वतन्त्र र निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन, आगामी दिनमा यस प्रकारका घटना नदोहोरिने वातावरणको सुनिश्चितता गर्न तथा व्यक्तिको जीवनको अधिकार संरक्षण गर्ने गराउने कार्यमा संवेदनशील हुन सरकारको ध्यानाकर्षण गराएको छ ।

मोबाइल चोरीको आरोपमा नाबालक अवस्थामा कारागार चलान गरिएका हरिजनले हातहतियार मुद्दामा जेल सजाय तोकिएका सुर्खेतका विजयविक्रम शाहको नाममा रोल्पा कारागारमा रहेको अवस्थामा मृत्यु भएको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस