बाढीजन्य विपद्ः धनुषाका ७ स्थानीय तह उच्च जोखिममा

जनकपुरधाम, २८ जेठ । मनसुन आरम्भ भएसँगै धनुषामा बाढीजन्य प्रकोपबाट हुने जनधनको क्षतिलाई न्यूनिकरण गर्न मनसुनजन्य प्रतिकार्यसम्बन्धी कृत्रिम अभ्यास थालिएको छ ।

जिल्ला विपद् व्यवस्थापन समिति धनुषाको आयोजना तथा धनुषाको क्षीरेश्वरनाथ नगरपालिकास्थित नेपाली सेनाको श्रीनाथ गणको नेतृत्वमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले मनसुनजन्य प्रतिकार्यसम्बन्धी कृत्रिम अभ्यास गरेका हुन् ।

विपद्का बेला समस्यामा परेकालाई कसरी उद्धार गर्ने, बाढीमा पसेकालाई उद्धार गरेर सुरक्षित स्थानमा कसरी लैजाने, घाइतेको प्राथमिक उपचार कसरी गर्ने, उद्धारका क्रममा सुरक्षाकर्मी आफू कसरी सुरक्षित हुने र विपद्का बेला के के कुरामा ध्यान दिनेलगायतका विषय वस्तुलाई समेटेर सुरक्षाकर्मीले विपद् पूर्वाभ्यास प्रस्तुत गरेका थिए ।

धनुषामा बाढीजन्य विपद्को दृष्टिकोणले १८ मध्ये ७ वटा स्थानीय तह उच्च जोखिम छन् । विभिन्न नदीमा आउने बाढीका कारण नदी आसपासमा पर्ने कमला, शहिदनगर, सबैला र नगराइन नगरपालिका तथा धनौजी, मुखियापट्टी मुसहरनियाँ र जनकनन्दनी गाउँपालिका बाढीजन्य विपद्को हिसाबले उच्च जोखिममा रहेको जिल्ला विपद् व्यवस्थापन समितिका सभापति तथा धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।

ती कुरालाई मध्यनजर गरेर पूर्वतयारी थालिएको उनले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस