आईडियल सहकारी संस्थाका ३७ वर्षीय एक कर्मचारीको मृत्यु

राजविराज, ८ असार । सप्तरीको राजविराजस्थित आईडियल सहकारी संस्था लिमिटेडमा कार्यरत एक कर्मचारीको मृत्यु भएको छ । मंगलबार सहकारीको कामकाज सकाएर कार्यालयको मेन गेट बन्द गर्न जाने क्रममा ३७ वर्षीय ललितकुमार ठाकुर बेहोस भएर लडेका थिए ।

करिब ५ बजेतिर उनी बेहोस भएपछि उपचारको लागि गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना गरिएको थियो । उपचारको क्रममा उनको बेलुकी साढे ८ बजेतिर मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा.दिलिपकुमार साहले मंगलबार साँझ उपचारको लागि अस्पतालमा भर्ना गरिएको ठाकुरको उपचारकै क्रममा मृत्यु भएको बताए । ‘प्रारम्भिक हेर्दा विष सेवन गरेको जस्तो बुझिन्छ’ उनले भने ‘यद्यपी, भिसेरा परीक्षणको रिपोर्ट आएपछि मात्रै विष हो वा होइन भनेर पुष्टि गर्न सकिन्छ ।’

विगत १४ वर्षदेखि सो सहकारीमा कार्यालय सहयोगी पदमा कार्यरत रहेका ठाकुर सहकारीमा कारोबार हुँदै आएको रकमलाई यहाँका विभिन्न बैंकहरुमा पुर्याउने र ल्याउने काम गर्दै आएका थिए । मंगलबार पनि उनी यहाँका चार वटा बैंकमा पुगेर सो काम सकाएर मात्रै सहकारी पुगेको बताइएको छ ।

यता, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) माधवप्रसाद काफ्लेले कर्मचारीको मृत्यु भएको कुरा बुझिएको छ । ‘अन्य कुराहरु के रैंछ भन्ने विषयमा अनुसन्धान भइरहेको छ, त्यसपछि मात्रै केही भन्न सकिन्छ ।’,उनले मधेशलाइभसँग भने ।

Author:



क्याटोगरी छान्‍नुहोस