अफगानिस्तान भूकम्पः ९२० जनाको मृत्यु, ६ सयभन्दा बढी घाइते

जनकपुरधाम। अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पका कारण ९२० जनाको मृत्यु भएको छ । बीबीसीले जनाएअनुसार हालसम्म घाइते हुनेको संख्या ६ सयभन्दा बढी पुगेको हो ।

भूकम्पबाट विशेषगरी पाक्तिका र कोस्त प्रान्त बढी प्रभावित भएको बताइएको छ । त्यहाँका दर्जनौं घरहरु भत्किएर ध्वस्त भएका छन् । उद्धारकर्ताहरु घाइतेको उपचारमा दौडभुप गरिरहेका छन् भने दुर्गम स्थानहरुमा हेलिकप्टर प्रयोग गरेर घाइतेहरुलाई अस्पताल लगिएको छ ।

त्यहाँका विपद् व्यवस्थापन हेर्ने सहायक मन्त्री शरफुद्दिन मुस्लिमले बुधबारको पत्रकार सम्मेलनमा करिब ९२० जनाको मृत्यु भएको र थप ६ सय जना घाइते भएको बताए । मृतकको संख्या अझै बढ्नसक्ने अनुमान गरिएको छ ।

भूकम्पको केन्द्रविन्दु दक्षिणपूर्वी अफगानिस्तानको खोस्त सहरभन्दा झण्डै ४४ किलोमटिर टाढा रहेको बताइएको छ । केन्द्रविन्दुभन्दा ५ सय किलोमिटर टाढासम्म भूकम्पको तरङ्ग पुगेको बताइएको छ । अमेरिकी जियोलोजिकल सर्भेका अनुसार अफगानिस्तानमा बुधवार कोस्ट क्षेत्रलाई केन्द्रविन्दु बनाएर ५.९ रेक्टर स्केलको भूकम्प गएको हो ।

अफगानिस्तानबाहेक पाकिस्तान र भारतसम्म पनि उक्त भूकम्पको धक्का महसुस भएको युरोपेली भूकम्प मापन केन्द्र ईएमएससीले जनाएको समाचारसंस्था रोएटर्सले उल्लेख गरेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस