अवकाश प्राप्त नासु झाविरुद्ध भ्रष्टाचार मुद्दा, २ करोड ४४ लाख विगो दावी

जनकपुरधाम, ८ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय धनुषामा कार्यरत तत्कालीन नायव सुब्बा गणपति झाविरुद्ध बुधवार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । अवकाश प्राप्त झाको वैधानिक आम्दानी र खर्च तथा लगानीका बारेमा छानबिनपछि आयोगले २ करोड ४४ लाख ७१ हजार १०५ रुपैयाँ ५१ पैसाको स्रोत नखुलेको भन्दै मुद्दा दायर गरेको हो ।

आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीले जारी गरेको विज्ञप्तिअनुसार २०३९ मंसिर ९ गते उनी गाविस सचिवका रुपमा सार्वजनिक सेवामा प्रवेश गरी त्यस यता विभिन्न पद तथा कार्यालयमा रही २०७८ साउन महिनाबाट अवकाश प्राप्त गरेका हुन् । अयोगले आर्थिक वर्ष २०३९/४० देखि २०७७/७८ सम्मको उनको समग्र आय÷व्यय तथा खर्च एवं लगानीलाई आधार बनाएर छानबिन गरेको थियो ।

समीक्षा अवधिमा उनले दुई करोड ४२ लाख ६७ हजार १०४ रुपैयाँ ५६ पैसा आयआर्जन गरेको र ४ करोड ८७ लाख ३८ हजार २१० रुपैयाँ ७ पैसा खर्च एवं लगानी गरेको देखिएको आयोगको भनाइ छ । उनको दुई करोड ४४ लाख ७१ हजार १०५ रुपैयाँ ५१ पैसा बराबरको खर्च तथा लगानीको वैधानिक स्रोत खुल्न नसकेको भन्दै आयोगले उनीविरुद्ध आरोप पत्र दायर गरेको हो ।

वैधानिक स्रोत खुल्न नसकेको रकमलाई बिगो मानेर आयोगले उक्त रकम बराबरको सम्पत्ति तथा नगद जफत गर्न पनि मागदाबी गरिएको छ । अवकाश प्राप्त नायव सुब्बा झाले आफूले गैर कानुनी रुपमा आर्जन गरेको सम्पत्ति पत्नी मिनादेवी झा, छोराहरु दिवाकर कुमार झा, शिवाकर कुमार झा र करुणाकर कुमार झाको नाममा समेत राखेको पाइएको भन्दै आयोगले उनीहरुको नाममा रहेको सम्पत्ति जफत गर्ने प्रयोजनका लागि उनीहरुलाई समेत प्रतिवादी कायम गरेर आरोप पत्र दायर गरेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस