आज र भोलि सामान्य बदली, मंगलबारदेखि भारी वर्षाको सम्भावना

जनकपुरधाम । हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेकोले आज र भोली मौसम सामान्य रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल प्रदेश १ लगायत बाँकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाकी भू–भागमा आंशिक बदलीको सम्भावना रहेको महाशाखाले जनाएको छ । प्रदेश १, बागमती र गण्डकी प्रदेश भू–भागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

भोलिसम्म देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। पहाडी भू-भागका केही स्थान र अन्य केही ठाउँमा मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । भोलि राति भने प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

पर्सि (मंगलबार) रातिदेखि भने सुदूरपश्चिम प्रदेशका थोरै स्थान, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। त्यसैगरी गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान, प्रदेश १, मधेश र सुदूरपश्चिम प्रदेशका दक्षिणी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुनेछ।

आगामी २४ घण्टामा देशका पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको तथा नदी नाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्क रहन महाशाखाले आग्रह गरेको छ।

Author:



क्याटोगरी छान्‍नुहोस