करारका कर्मचारीलाई नै निरन्तरता दिन गाउँपालिका राष्ट्रिय महासंघको आग्रह

जनकपुरधाम । गाउँपालिका राष्ट्रिय महासंघ नेपालले करार सेवामा रहेका कर्मचारीलाई कार्यसम्पादन मूल्याङ्कनका आधारमा म्याद थप गर्न स्थानीय सरकारहरूलाई अनुरोध गरेको छ ।

महासंघले विज्ञप्ति गर्दै अनुभवी कर्मचारी हटाउँदा स्थानीय सरकारका कामकारबाहीमा पनि असर पर्ने उल्लेख गरेको हो । प्रायजसो स्थानीय तहले साउन १ देखि करारका कर्मचारीको म्याद थपेका छैनन् । स्थानीय तहमा करारतर्फका सरसफाइ गर्नेदेखि सवारी चालक र स्वास्थ्यकर्मी, शिक्षक रिक्त अवस्था छ ।

महासंघले लोक सेवा–प्रदेश लोक सेवाबाट सिफारिस भई कर्मचारी नआएसम्मका लागि करार सेवाका कर्मचारीलाई नै निरन्तरता दिन आग्रह गरेको छ । ‘स्वीकृत दरबन्दीभित्र विद्यमान कानूनबमोजिम प्रक्रियागत नियुक्ति भएका र सन्तोषजनक कार्यसम्पादन गरिरहेका कर्मचारीहरूको कार्यसम्पादन मूल्याङ्कनका आधारमा म्याद थप गरी सेवा लिनु स्थानीय सरकारका लागि अवसर पनि हो किनकि ती कर्मचारीको अनुभव र क्षमता अभिवृद्धिका लागि राज्यको लगानी परिसकेको छ,’ महासङ्घका अध्यक्ष होमनारायण श्रेष्ठ र महासचिव वंशलाल तामाङले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

गाउँ सभाबाट स्वीकृत दरबन्दीमा लोकसेवाबाट कर्मचारी आएपछि करारका कर्मचारीको अवधि स्वतः सकिने पनि उनीहरूले बताएका छन् । ‘कार्यक्षमताको मूल्याङ्कन नगरी एकमुष्ट रूपमा करारका कर्मचारी हटाउने र पुन सोही पदमा करारमा नियुक्ति गरिनु न्यायिक तथा रोजगारी हकको दृष्टिकोणबाटसमेत उपयुक्त हुँदैन,’ महासङ्घले भनेको छ ।

हेर्नुहोस् विज्ञप्तिः

Author:



क्याटोगरी छान्‍नुहोस