डाक्नेश्वरीः २५ लाखबढीको स्यानिटरी प्याड, लाभग्राहीको छैन् अभिलेख

राजविराज । सप्तरीको डाक्नेश्वरी नगरपालिकामा खरिद गरिएको २५ लाखभन्दा बढीको स्यानिटरी प्याड लाभग्राही विद्यार्थी (छात्रा)ले नपाएको आशंका गरिएको छ ।

नगरपालिकाले आर्थिक वर्ष ०७७/०७८ मा सामुदायिक विद्यालयमा अध्ययनरत किशोरीहरुका सिलबन्दी दरभाउपत्रबाट २७ हजार २ सय र सिंधै ८ हजार ३ सय प्याकेट स्यानिटरी प्याड खरिद गरेको थियो । सो प्याड खरिद गर्दा स्पेसिफिकेशन खुलाइ सूचना प्रकाशन गरिएको छैन् भने आपूर्ति भएको सो प्याड तोकिएको मापदण्ड अनुसार भए नभएको यकिन नै नगरी भुक्तानी गरेको महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको लेखा परीक्षण प्रतिवेदनले देखाएको छ ।

प्याड पाउनुपर्ने लाभग्राहीको अभिलेख समेत राखिएको छैन् । ‘स्यानिटरी प्याड (वितरण व्यवस्थापन) कार्यविधि २०७६ अनुसार विद्यालयको मागको आधारमा स्थानीय तहले यकिन गरी विद्यालयलाई स्यानिटरी प्याड उपलब्ध गराउने व्यवस्था छ । नगरपालिकाले यो वर्ष खरिद गरेको स्यानिटरी प्याड विद्यालयमा पठाइ जिन्सी मौज्दान शूल्य गरेको छ ।’ प्रतिवेदनमा भनिएको छ, ‘कार्यविधिको दफा ६ मा विद्यालयले दफा ५ बमोजम उपलब्ध स्यानिटरी प्याड र छात्राहरुलाई वितरणको अभिलेख राख्नुपर्ने, सोको सूचना सूचना प्रत्येक महिनाको पहिलो हप्ता विद्यालयको सूचना पार्टीमा टाँस गर्नुपर्ने व्यवस्था छ । साथै दफा ४ मा स्थानीय तहले खरिद गरेको स्यानिटरी प्याडको गुणस्तरमा असर नपर्ने गरी सुरक्षित भण्डारण गर्नुपर्ने व्यवस्था छ । तर, नगरपालिका तथा विद्यालयले तोकिएको मापदण्ड अनुसार भण्डारण गरेको छैन् ।’

सो आर्थिक वर्षमा नगरपालिकाले प्याड खरिजमा २५ लाख ७८ हजार ४०६ रुपैयाँ भुक्तानी गरेको छ ।
नगरपालिकाका स्वास्थ्य संयोजक शिवशंकर ठाकुरले स्यानिटरी प्याड खरिद गरेर वितरण गर्ने कार्य शिक्षा शाखाको रहेको बताए । ‘आफु केही महिनायता मात्रै जिम्मेवारीमा आएकोले धेरै कुरा जानकारी भएन’ उनले भने–‘बाँकी प्याड खरिद गरेर वितरण गर्ने कार्य शिक्षा शाखाको हो ।’

उता, नगरपालिकाका शिक्षा शाखा अधिकृत कृष्णाकुमार यादवले सो जिम्मेवारी शिक्षा शाखाकै रहेपनि गत वर्ष स्वास्थ्य शाखाले खरिद गरेर वितरण गरेको बताए । ‘स्वास्थ्य शाखाले खरिद गरेर वितरण गर्ने बेलामा हामीसँग समन्वयन गरेको थियो’ उनले मधेशलाइभसँग भने–‘वितरण भएकै हो तर के कति स्यानिटरी प्याड खरिद भयो? सो बारे आफुलाई जानकारी छैन् ।’

Author:



क्याटोगरी छान्‍नुहोस