सप्तरीमा करेन्ट लागेर गर्भवती महिलासहित ३ जनाको मृत्यु

राजविराज । सप्तरीमा बुधबार साँझ करेन्ट लागेर गर्भवती महिलासहित तीन जनाको मृत्यु भएको छ । जिल्लाको कञ्चनरुप नगरपालिका–६ की २० वर्षीया अञ्जली सरदार र उनका ससुरा ४० वर्षीय सौदानन्द सरदारको करेन्ट लागेर मृत्यु भएको हो ।

७ महिनाकी गर्भवती अन्जली आफ्नै आँगनमा जडान गरिएको मोटर ट्युबेलमा पानी लिन जाँदा करेन्ट लागेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । अचेत भएकी बुहारीलाई छुटाउन गएका सौदानन्दलाई समेत करेन्ट लागेको थियो ।

दुवै जनाको घटनास्थलमा नै मृत्यु भएको प्रहरी उपरीक्षक काफ्लेले बताए । त्यस्तै, जिल्लाको राजगढ गाउँपालिका–२ कमलपुरमा ५६ वर्षीय शिवशङ्कर साहको समेत करेन्ट लागेर मृत्यु भएको छ ।

आफ्नै आँगनमा रहेको चापाकलमा जडान गरिएको मोटरमा पानी तान्ने क्रममा उनलाई करेन्ट लागेको हो । दुवै घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस