उपमेयरविरुद्ध उजुरी–भारतीय नागरिक रहेको दावी, किर्ते गरी नागरिकता लिएको आरोप

राजविराज, २० साउन । किर्ते गरी नेपाली नागरिकता लिएको भन्दै सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपप्रमुख मीराकुमारी यादवविरुद्ध उजुरी परेको छ ।

जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको उजुरीमा मीरा र उनका पति महेन्द्रकुमार यादव भारतको बिहार राज्यअन्तर्गत मझारी ग्राम, थाना निर्मली, पञ्चायत मझारी, अञ्चल निर्मली, जिल्ला सुपौल निवासी रहेको दावी गरिएको छ ।

विधानसभा निर्वाचन क्षेत्र विहान निर्वाचक नामावली भाग सं.५१ अनुसार श्रीमान् श्रीमाति दुवै भारतीय मुलका स्थायी नागरिक रहेता पनि झुठो विवरणको आधारमा नेपाली नागरिकता लिएको उजुरीमा उल्लेख गरिएको छ । ‘नेपाल देशमा मीरा, महेन्द्र र यी दुवैका छोरा इन्द्रजीतले साविकको सप्तरीको औरही गाविस वडा नम्बर–३ (हाल डाक्नेश्वरी नगरपालिका ६) बाट झुठो विवरणको आधारमा नागरिकता प्रमाण पत्र लिएको लिई मिरा सार्वजनिक पद धारण गरी न्याय जस्तो संवेदनशिल न्यायिक समितिको संयोजक पदमा बसी पदिय दायित्व दुरुपयोग गरिरहेकी छिन’, उजुरीमा उल्लेख छ ।

मीरा सार्वजनिक पद धारण गरी न्याय जस्तो संवेदनशील न्यायिक समितिको संयोजक पदमा बसी पदीय दायित्व दुरुपयोग गरिरहेकाले नागरिकता ऐन, २०६३ को दफा नम्बर १२ बमोजिम मीरा, उनका पति महेन्द्र र छोरा इन्द्रजीतको नागरिकता प्रमाण पत्र रद्ध गरी सोही ऐनको दफा २१ बमोजिम हदैसम्म सजाय गर्न उजुरीमा माग गरिएको छ ।

भारतको निर्वाचन नामावली २०२२ मा बिहारको क्रम संख्या ६३२ मा महेन्द्रको र ६३३ मा मीराको नाम छ । अनुमण्डलीय न्यायालय, निर्मलीमा महेन्द्र र मीराले पेश गरेको शपथ–पत्र तथा भारत निर्वाचन आयोगबाट लिएको पहिचान पत्र समेतबाट उनीहरू भारतीय रहेको प्रमाण उजुरीमा संलग्न छ ।

उजुरीमा मीरालाई उपप्रमुख पदबाट निलम्बन गरी आवश्यक कानुनी कारबाही माग गरिएको छ । उजुरीकर्ताले नाम गोप्य दर्ता गराएको सो उजुरी गृह मन्त्रालय, नेपाल प्रहरी प्रधान कार्यालय, जिल्ला प्रहरी कार्यालय, सप्तरी, डाक्नेश्वरी नगरपालिका तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग समेतलाई बोधार्थ गरिएको छ ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले उजुरी प्राप्त भएको बताउँदै आवश्यक छानविन पछि निष्कर्षमा पुग्ने जानकारी दिए ।

उता, उपमेयर मिराले आफु नेपाली नागरिक रहेको दावी गरिन् । ‘म नेपाली हुँ, हनुमाननगर कंकालिन नगरपालिकास्थित मधुवापुर, अर्री–विराजी टोल मेरो माइती हो’ उनले भनिन्–‘अनि सुसराली चैं डाक्नेश्वरी नगरपालिका–६ औरही टोल हो, अनि म कसरी भारतीय भए ।’

उजुरीको विषयमा आफुलाई जानकारी नरहेको उपमेयर यादवले बताइन । ‘अनाहकमा कसले र किन उजुरी दिए? सो कुरा मलाई जानकारी छैन्, छानविन होस्’, उनले भनिन् ।

गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा उनी नेकपा एमालेबाट उपमेयरमा निर्वाचित भएकी थिइन ।

Author:



क्याटोगरी छान्‍नुहोस