गोबरगाढाका सामुदायिक भवन बग्यो, विद्यालय र स्वास्थ्य चौकीमा कटान जारी

राजविराज, २० साउन। सप्तकोसी नदीको बाढीले हनुमाननगर कंकालिनी नगरपालिका–१३ गोबरगाढास्थित सामुदायिक भवन कटान भएर बगिसकेको छ भने विद्यालय र स्वास्थ्य चौकीमा पनि तीव्रमा कटान जारी रहेको छ ।

बगिसकेको सो भवन तराई मधेश समृद्धि कार्यक्रम अन्तर्गत आर्थिक वर्ष ०७३/७४ र ०७४/७५ मा गरी कुल ६० लाखको लागतमा निर्माण गरिएको थियो । २०२३ सालमा स्थापित श्री शारदा आधारभूत विद्यालयको पूर्वतर्फको भवन पनि बगिसेको छ भने उत्तर र पश्चिमतर्फको भवन पनि बाढीको उच्च गतिको वहावले कटान गरिरहेको छ ।

विद्यालयसँगै रहेको स्वास्थ्य चौकीमा पनि कटान जारी रहेको स्थानीय राधादेवी यादवले बताइन । ‘पानीको वहाव यस्तै रह्यो भने केही समयभित्रै विद्यालय र स्वास्थ्य चौकीको संरचना पूर्ण रुपमा बगिसक्ने देखिन्छ’ उनले भने–‘हेरेर बस्ने बाहेक हामीसँग केही विकल्प नै छैन् ।’

गोबरगाढावासीलाई वर्षेनी बाढीले यस्तै समस्याहरु सिर्जना गर्दै आएको यादवको दुखेसो छ । ‘हाम्रा समस्याबारे सम्भव त राज्यलाई जानकारीसम्म छैन् होला, यस पटक हामी समयमै सचेत नभएको भए बस्तीका सबै नै बाढीको चपेटा पर्ने थिए ।’

पुरानो बसोबास स्थल नदी बन्यो

यसअघिसम्म विद्यालयदेखि पूर्वतर्फ करिब ३ सय परिवार टहरा निर्माण गरेर वर्षौदेखि बसोवास गर्दै आएका थिए । सो टापु अहिले नदीमा परिणत भइसकेको छ । केही महिना अघि मात्रै ती परिवारका अधिकांशले विद्यालयदेखि उत्तरतर्फ ५ सय मिटर दुरीमा रहेको टापुमा टहरा बनाएर बसोवास गर्दै आएका छन् ।

पुरोना बसोवास स्थलमा रहेको केहीको टहरासँगै सरसमानसहित खाद्यान्न बगाइसकेको छ । हाल उनीहरु पनि नयाँ बस्तीमा टहरा निर्माण गर्न यत्न गरिरहेका छन् । ‘हामीले समयमै नयाँ बस्तीतर्फ बसाइ सरेर ज्यान जोगाउन सफल भयो’ सकलदेव सदाले भने–‘अन्यथा सबै बगिसकेका हुन्थ्यौं ।’
यद्यपी, राज्यले आफुहरुलाई सोधखोज गर्नसम्म नआएको उनले गुनासो गरे ।

‘चारैतिरबाट नदीले घेरिएका छौं, आउजाउ गर्न कठिन र जोखिम छ’ उनले भने–‘कोही विरामी पर्दा उपचार नपाएर मर्नु बाहेकको विकल्प छैन, भएभरको एउटा स्वास्थ्य चौकी पनि बगिसक्ने निश्चित नै छ ।’

उता, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले कटानको सन्दर्भमा सिंचाइ विभाग र भारततर्फका सरोकारबालालाई जानकारी गराइसकेको बताए । ‘हाम्रो कार्यक्षेत्र होइन भनेर भारतीय पक्ष पंछिए, हाम्रोतर्फ चैं सिचाइ विभागका डिजी सा’बलाई हामीले जानकारी गरासकेका छौं’ उनले भने–‘यस विषयमा थप कुरा गृह मन्त्रालयमा पनि राख्छु ।’

तस्बिरः विद्यानन्द राम/मधेशलाइभ

Author:



क्याटोगरी छान्‍नुहोस