राजनीतिक दल दर्ता आह्वान

जनकपुरधाम । निर्वाचन आयोगले दल दर्ता आह्वान गरेको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको लागि दल दर्ता आह्वान गरेको हो ।

आयोगका अनुसार २०७९ साउन १९ गते सम्म दर्ता भएका राजनीतिक दलले संविधानको धारा २७१ बमोजिम २०७९ साउन २२ गतेदेखि २०७९ साल साउन ३१ गतेसम्म कार्यालय समयभित्र दल दर्ता गराउनु पर्नेछ । ‘राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची–१२ बमोजिमको ढाँचामा निर्वाचन आयोग, कान्तिपथ, काठमाडौंस्थित कार्यालयमा दल दर्ताका लागि निवेदन दिन सूचित गरिएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘निवेदनको ढाँचा आयोगको वेब–साइट https://election.gov.np/ बाट डाउनलोड गर्न वा आयोगको सचिवालयबाट प्राप्त गर्न सकिनेछ ।’

दल दर्ताको लागि निवेदन दिँदा राजनीतिक दलको विवरण, दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको संख्या, दलले वार्षिक लेखापरीक्षण प्रतिवेदन पेश गरेको मिति र दलको केन्द्रीयस्तर र प्रदेशस्तरको कार्यकारिणी समितिको पछिल्लो निर्वाचन भएको मिति समेत उल्लेख गर्नुपर्ने आयोगले भनेको छ ।

दल दर्ताको लागि निवेदन दिँदा प्रतिनिधिसभा सदस्यको छुट्टै र प्रदेशसभा सदस्यको हकमा प्रदेशगत रूपमा ७ वटा प्रदेशको लागि छुट्टाछुट्टै निवेदन पेश गर्नुपर्ने जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस