प्रमलाई मधेश सरकारको ७ दिने अल्टिमेटम–प्रहरी समायोजन नभए आन्दोलन गर्ने चेतावनी

जनकपुरधाम, २२ साउन । मधेश प्रदेश सरकारले प्रहरी समायोजन गर्न माग गर्दै आइतबार ७ दिने अल्टिमेटमसहित प्रधानमन्त्री शेरबहादुर देउवाका लागि ध्यानाकर्षण–पत्र बुझाएको छ ।

मधेश प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरत प्रसाद साहले प्रदेश प्रमुख हरिशंकर मिश्रलाई सो पत्र बुझाएका हुन् । नेपाली कांग्रेसका संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, नेकपा (एस) संसदीय दलका नेता तथा उद्योग, भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजय कुमार यादव, वन, पर्यटन तथा वातावरण मन्त्री शत्रुधन महतो, खानेपानी तथा उर्जा विकास मन्त्री विजय यादव, गृह तथा राज्यमन्त्री रुबी कुमारी कर्ण सहित प्रदेश सभा सदस्यहरु समेतको टोलीले प्रदेश प्रमुख मिश्र मार्फत प्रधानमन्त्री देउवालाई ध्यानाकर्षण–पत्र बुझाएका हुन् ।

प्रदेश प्रमुखलाई ज्ञापनपत्र बुझाउने क्रममा गृह तथा सञ्चार मन्त्री साहले आफुहरुले पटक पटक संघीय सरकारलाई आग्रह गर्दै आएकोमा हालसम्म बेवास्ता गर्दै आएकोले बाध्य भएर अल्टिमेटम सहितको ध्यानाकर्षण–पत्र बुझाएको प्रतिक्रिया दिए । उनले अब पनि मधेश सरकारको माग सम्बोधन नभए शान्तिपुर्ण र अहिंसात्मक विरोधका कार्यक्रमहरु अगाडि बढाउने चेतावनी दिए ।

नेपालको संविधानको धारा २६८ ले प्रदेश प्रहरी संगठनको व्यवस्था गरेको तथा अनुसुची ६ को क्रम संख्या १ मा प्रहरी शान्ति सुरक्षा सम्बन्धी अधिकार प्रदेश सरकारको क्षेत्राधिकारको सूची भित्र रहेको भनी स्मरण गराईएको छ ।

ध्यानाकर्षण–पत्रमा अगाडि भनिएको छ ‘संघीय संसदबाट प्रहरी कर्मचारी समायोजन ऐन २०७६ पारित समेत भईसकेको र प्रदेशसभाबाट नेपाल प्रहरी र प्रदेश प्रहरी कार्यसञ्चालन, सुपरिवेक्षण र समन्वय सम्बन्धी ऐन २०७६ माघ २८ गते नै प्रमाणिकरण भई कार्यान्वयनमा आईसकेको सम्माननीय प्रधानमन्त्रीज्यूलाई अवगत नै छ ।’

Author:



क्याटोगरी छान्‍नुहोस