मधेश सरकारका मन्त्रीहरुको धर्ना जारी

जनकपुरधाम, ३० साउन । प्रहरी समायोजनमा गम्भीरता नदेखाएको भन्दै संघीय सरकार विरुद्ध आन्दोलित मधेश प्रदेश सरकारका मन्त्रीहरुले सोमबार पनि धर्ना कार्यक्रमलाई निरन्तरता दिएका छन् ।

प्रहरी समायोजन गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्न प्रधानमन्त्रीसँग प्रत्यक्ष भेट गरी आग्रह गरेको तथा एक साताअघि नै आन्दोलनकै अल्टिमेटम दिँदै ज्ञापन पठाउँदा समेत गम्भीरता नदेखाएपछि प्रदेश सरकारले पहिलो चरणको आन्दोलन तहत आइतबारदेखि धर्ना सुरु गरेका हुन् ।

एक सातासम्म दैनिक २ घण्टा प्रदेश प्रमुखको निवासमा अगाडी धर्ना दिने कार्यक्रमअनुसार सोमबार गृह तथा सञ्चार मन्त्री भरतप्रसाद साह, अर्थ मन्त्री शैलेन्द्रप्रसाद साह, भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादव, जसपाका सचेतक शैलेन्द्र यादव, पूर्व राज्यमन्त्री सुरेश मण्डल लगायत धर्नामा सहभागी भएका थिए ।

धर्नामा सहभागी गृह तथा सञ्चारमन्त्री साहले अझैं संघीय सरकारको उदासिनता कायमै बताए । ‘पहिलो चरणको आन्दोलनअनुसार एक सातासम्म धर्ना दिन्छौं’ उनले भने–‘सुनुवाइ नभए दोस्रो चरणको आन्दोलनअनुसारका कार्यक्रममा जाने छौं ।’

Author:



क्याटोगरी छान्‍नुहोस