मर्यादित र शान्तिपूर्ण वातावरणमा चुनाव सम्पन्न गराउन प्रहरी तत्परः आइजिपी सिंह

राजविराज, १ भदौ । नेपाल प्रहरीका महानिरिक्षक (आइजिपी) धिरजप्रताप सिंहले आगामी निर्वाचनलाई मर्यादित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन प्रहरी तत्पर रहेको बताएका छन् । नेपाल पत्रकार महासंघ शाखा सप्तरीले वुधबार आयोजना गरेको ‘सप्तरीका पत्रकारसँग भेटघाट कार्यक्रम’मा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनलाई मर्यादित र शान्तिपुर्ण वातावरणमा सम्पन्न गराउने विषयमा हामी सम्पुर्ण ध्यान केन्द्र्रित गरेका छौं’ उनले भने–‘आम नेपाली नागरिकलाई ढुक्क भएर मतको सदुपयोग गर्न आग्रह छ ।’

सुरक्षाकर्मीका साथै निर्वाचन भयरहित वातावरणमा सम्पन्न गर्न सञ्चारकर्मीको भूमिका पनि महत्वपूर्ण रहेको जिकिर गर्दै आइजिपी सिंहले सकारात्मक सहयोग गरिदिनुहुन सञ्चारकर्मीलाई आग्रह समेत गरे । ‘समाजमा हुने विभिन्न गतिविधिलाई सञ्चारकर्मीले चारैतिरबाट नियालिरहेका हुन्छन्, नकारात्मक प्रभाव पार्ने खालका गतिविधि भए तत्कालै हामीलाई खबर गरेर सहयोग गरिदिनुहुन आग्रह छ’ उनले भने–‘त्यो कार्यबाट सञ्चारकर्मी साथीहरु प्छि नहट्ने विश्वास लिएको छु ।’

तस्करी लगायत गैरकानूनी कार्यमा प्रहरीको संलग्नता नरहेको दावी गर्दै आइजिपी सिंहले यद्यपी त्यस्तो कार्यमा संलग्न रहेको पाइए त्यस्ता प्रहरीलाई विभागीय कारबाही हुने प्रतिबद्धता समेत जनाए । नेपाल पत्रकार महासंघ शाखा सप्तरीका अध्यक्ष श्रवणकुमार देवको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा आइजिपी सिंहलाई मायाको चिनो समेत प्रदान गरिएको छ ।

मधेशलाइभका कार्यकारी सम्पादक समेत रहेका नेपाल पत्रकार महासंघ शाखा सप्तरीका कार्यसमिति सदस्य विद्यानन्द रामले सञ्चालन गरेको कार्यक्रममा महासंघ सप्तरीका उपाध्यक्ष वैद्यनाथ यादवले स्वागत मन्तव्य दिएका थिए ।

कार्यक्रममा मधेश प्रदेशका प्रहरी प्रमुख डिआइजी मसाउद आलम खाँ, बरिष्ठ प्रहरी उपरिक्षक दानबहादुर कार्की, प्रहरी उपरिक्षक अभिनारायण काफ्ले लगायतको उपस्थित थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस