स्वास्थ्यसँग खेलबाड गर्ने राजविराजका यी मिठाइ पसल !

राजविराज, २ भदौ । सप्तरी सदरमुकाम राजविराजका केही मिठाइ पसल सञ्चालकहरुले मानव स्वास्थ्यसँग खेलबाड गर्ने गरेको पाइएको छ । विहिवार संयुक्त बजार अनुगमन टोलीले गरेको अनुगमनबाट सो कुरा बाहिरिएको हो ।

अनुगमन गरिएका अधिकांश मिठाइ पसल र उद्योगमा ‘कूकिङ्ग’ तथा ‘फ्राइ’ एरिया फोहोर र दुर्गन्धित, विग्रेको खाने तेलको प्रयोग, व्यक्तिगत सरसफाइको अभाव लगायत मानव स्वास्थ्यमा गम्भीर असर पार्ने खालका गतिविधि पाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजविराजका प्रमुख सुरेशकुमार सिंहले जानकारी दिए ।

उनका अनुसार वडा नम्वर ७ स्थित रिदेश्वर पाण्डियाले सञ्चालन गर्दै आएको बजरंगबली पेडा भण्डारमा विग्रेको खाने तेल प्रयोग गर्ने गरेको देखिएको छ भने सरसफाइमा कमी र किचेन पनि अव्यवस्थित रहेको छ ।

पेडा भण्डारको किचेनमा पाइएको १० लिटर विग्रेको खाने तेल तत्कालै नष्ट गरिएको उनले बताए । त्यस्तै, सोही वडामा मनोज साहले सञ्चालन गर्दै आएको पुरानो माँ भगवती स्वीट कर्नरमा पनि विग्रेको तेलमा प्रयोग गर्ने गरेको र पकाउने ठाउँ पनि फोहोर तथा दुर्गन्धित रहेको देखिएको छ ।

वडा नम्वर ७ मै महेन्द्रप्रसाद हलुवाइले सञ्चालन गर्दै आएको जय माँ भगवती स्वीट कर्नरको ‘कूकिङ्ग’ र ‘फ्राइ’ एरियामा अव्यवस्थित रुपमा फोहोरमैली थुपारिएको अनुगमनबाट देखिएको छ । त्यस्तै, उर्मिला हलवाइले सञ्चालन गर्दै आएकी सनसाइन स्वीटमा पनि सरसफाइको कमी देखिएको छ ।

राजविराज–३ स्थित रेजिकुमारी देव चौधरीले सञ्चालन गर्दै आएकी यम्मी स्वीट एण्ड बेकरी उद्योगले पनि ‘टिपोन’बढी भएको (विग्रेको) खाने तेल प्रयोग गरिरहेको पाइएको छ ।

अनुगमनको क्रममा पाइएको ५ लिटर खाने तेल नष्ट गरिएको प्रमुख सिंहले बताए । तीमध्ये अधिकांश मिठाइ पसल सञ्चालकहरुलाई किचेन र व्यक्तिगत सरसफाइमा ध्यान पुर्याउन सचेत गराइएको छ भने आइन्दा मानव स्वास्थ्यमा असर पर्ने खालका कार्य गरेको पाइए कारबाही गर्ने चेतावनी समेत दिइएको छ ।

अनुगमन टोलीमा राजविराज नगरपालिकाकी कार्यवाहक मेयर इसरत प्रविन, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजविराजका प्रमुख सिंह, प्राविधिक सहायक राजीव बुढाथोकी, नगरपालिका प्रतिनिधि विरेन्द्रकुमार साह, उपभोक्ता मञ्चका अध्यक्ष राजकुमार गुप्ता, उद्योग वाणिज्य संघका प्रतिनिधि अमृत संचेती, न्यायिक उपभोक्ता मञ्चका अध्यक्ष रामकुमार यादव, जिल्ला प्रशासन कार्यालयका नासु शुशिलकुमार कर्ण र पत्रकारद्वय वैद्यनाथ झा र विद्यानन्द रामको उपस्थिती थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस