मदरसा निरीक्षण गर्न गएका सांसद बच्चा जाँच्न बाध्य भए

राजविराज, १७ भदौ । सप्तरीको कञ्चनरुप नगरपालिका–२ महादेवापट्टीस्थित बुधवार मदरसा निरीक्षण गर्न सांसद डा.सुर्यनारायण यादव पुगेका थिए ।

निर्वाचन क्षेत्र नं.१ बाट निर्वाचित भएका उनी मधेश प्रदेशका सामाजिक विकास मन्त्री नवलकिशोर साह लगायतका नेताहरुसँग पुगेको देखिएसँगै स्थानीयहरु बालबालिका बोकेरै सो स्थलसम्म पुगे ।

मञ्चका कार्यक्रम अघि बढ्नै लाग्दा बालबालिका बोकेर पुगेका स्थानीयहरु सांसद डा.यादवको आसपासमा घुँइचो नै लाग्यो । ‘गौ, डाक्टर हमर बच्चाके देखिदह’ अर्थात डाक्टर सा’ब मेरो बच्चालाई हेरिदिनु । बाल रोग विशेषज्ञ समेत रहेका डा.यादवले पनि स्थानीयहरुको आग्रह अनुसार भाषणको मञ्चमै बालबालिकालाई हेर्न थाले ।

उपस्थित दर्जनौं बालबालिकाको उनले स्वास्थ्य अवस्थाअनुसार जाँच र औषधी पनि लेखिदिएपछि स्थानीयहरु खुशी भएर फर्किए । ‘यहाँका धेरैले आफुलाई सांसद भन्दा पनि डाक्टर भनेर नै चिन्नुहुन्छ, र आफुलाई पनि बालबालिकाको उपचार गर्न पाउदा खुशी लाग्छ’ उनले भने ‘कार्यक्रमभन्दा पनि अन्य समयमा पनि उहाँहरुको बालबालिकालाई समस्या हुँदा उपचारको लागि आउनुहुन्छ ।’

निरीक्षणपछि सामाजिक विकास मन्त्री साह र सांसद यादवले निरीक्षणपछि मदरसा सञ्चालनका लागि एक महिनाको पारिश्रमिक पनि सहयोग गरे । निरीक्षण टोलीमा आम सञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादव, जनता समाजवादी पार्टीका नेता भोला पासवान, जिल्ला कोषाध्यक्ष एवम् प्रचार विभाग प्रमुख बृजमान तामाङ, पत्रकार विद्यानन्द राम लगायत सहभागी थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस