सरसफाइदेखि फलफूल वितरण गरेर निजामती सेवा दिवस मनाइने

राजविराज, २० भदौ । सप्तरीमा विरामीलाई फलफूल वितरणदेखि सबै सरकारी कार्यालयमा सरसफाइ गरेर निजामती सेवा दिवस–२०७९ मनाइने भएको छ ।

सोमवार प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमको अध्यक्षतामा भएको छलफलबाट सो निर्णय गरिएको हो । भोलि (भदौ २१) मनाइने निजामति सेवा दिवसको अवसरमा सबै सरकारी कार्यालयमा सरसफाइ गर्ने निर्णय गरिएको निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन, सप्तरीका अध्यक्ष अजयकुमार झाले जानकारी दिए ।

उनका अनुसार फलफूल वितरण कार्यक्रमको लागि सघन सहरी तथा भवन निर्माण आयोजनालाई आर्थिक सहयोग गर्न अनुरोध गर्ने निर्णय भएको हो ।

त्यस्तै, पर्सि (भदौ २२) राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका विरामीलाई विहान ८ बजे फलफूल वितरण गर्ने र सोही दिन साँझ ७ बजे सबै सरकारी कार्यालयमा दिपावली गर्ने छलफलबाट निर्णय गरिएको झाले बताए ।

छलफलमा सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरी, निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन, सप्तरीका अध्यक्ष झा, नेपाल निजामती कर्मचारी संगठनका उपाध्यक्ष महेशकुमार यादव, राजविराज कारागारका प्रमुख किशोरकुमार राम लगायको उपस्थिती थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस