कर्मचारीलाई उच्च मनोबल दिन सरकार प्रतिबद्ध : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले निजामती कर्मचारीलाई समयसापेक्ष तलब भत्ता तथा वृत्तिविकास व्यवस्थापन गरी उच्च मनोबलयुक्त र उत्प्रेरित राख्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

उन्नाइसौँ निजामती सेवा दिवसको अवसरमा राष्ट्रसेवक सम्पूर्ण निजामती कर्मचारीमा बधाई तथा शुभकामना व्यक्त गर्दै उनले यस्तो बताएका हुन्।

उनले मुलुकको स्थायी सरकारको रूपमा रहेको निजामती सेवाले आर्थिक, सामाजिक विकास र नागरिकहरूलाई सार्वजनिक सेवा प्रवाहमा पुर्‍याउँदै आएको योगदान प्रशंसनीय रहेको उल्लेख गरेका छन् ।

‘सरकारको सबैभन्दा नजिकको संयन्त्रको रूपमा सरकारलाई नीति र कार्यक्रमको तर्जुमादेखि कार्यान्वयनसम्मका चरणमा निजामती सेवाले महत्वपूर्ण सहयोग पुयाउँदै आएको छ । यसका लागि म सबै राष्ट्रसेवक कर्मचारीहरूलाई धन्यवाद दिन चाहन्छु’, प्रधानमन्त्री देउवाले शुभकामना सन्देशमा उल्लेख गरेका छन् । उन्नाइसौँ निजामती सेवा दिवस ‘व्यावसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन’ भन्ने मूल नाराका साथ मनाउन लागिएको छ ।

विसं २०१३ साल भदौ २२ गते निजामती सेवालाई व्यवस्थित तवरबाट सञ्चालन गर्ने उद्देश्यले निजामती सेवा ऐन जारी भएको थियो । सोही दिनको स्मरणमा विगत दुई दशकदेखि भदौ २२ गतेलाई निजामती सेवा दिवसको रूपमा विभिन्न कार्यक्रमहरू आयोजना गरी मनाउँदै आइएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस