जनकपुरधाम । आसन्न प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको लागि म्यादी प्रहरीको लागि भर्ना खुला गरिएको छ । प्रहरी प्रधान कार्यालयको मानव श्रोत विकास विभागको भर्ना छनौट शाखाले म्यादी प्रहरी भर्ना छनौट, नियुक्ति तथा परिचालन सम्बन्धी मापदण्ड अनुसार एक लाख १५ हजार म्यादी प्रहरीका लागि दरखास्त आह्वान गरेको हो ।
इच्छुक नेपाली नागरिकले भदौ ३० गतेदेखि असोज ६ गतेसम्म सार्वजनिक बिदाको दिन समेत दरखास्त बुझाउन सक्नेछन् । दरखास्त फाराम सबै जिल्ला प्रहरी कार्यालयमा पाइनेछ ।
यसैगरी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपालमा कार्यरत रही निवृत्तिभरण वा उपदान प्राप्त पूर्व सुरक्षाकर्मीहरू तथा पूर्व वन रक्षकहरू, सुरक्षा निकायमा २०७९ साल भदौ महिनासम्म भर्नाका लागि आवेदन दिई शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भई प्रवेश पत्रको प्रतिलिपि पेश गर्ने व्यक्तिहरूलाई पनि भर्नामा प्राथमिकता दिइने प्रहरीले जनाएको छ ।