बोदे बरसाइनमा चार दलको निर्णय–त्रुटिहरु सच्याएर अनि मात्रै नगरसभा गरौं

सप्तरी, ३१ भदौ । त्रुटिपूर्ण समितिहरु बनाएर बोदे बरसाइन नगरपालिकाले नवौं नगरसभा गर्न लागेको भन्दै चार दल आवद्ध जनप्रतिनिधि र नेता कार्यकर्ताहरुले आपत्ति जनाएका छन् ।

केही वडाध्यक्ष र नगर कार्यपालिका सदस्य समेत बसेको बैठकले असोज ५ गते गर्न लागेको नगरसभा स्थगित गरी त्रुटिहरु सच्याएर अनि मात्रै नगरसभा गर्न माग समेत गरेका छन् । नेपाली कांग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा माओवादी र नेकपा एमाले आवद्ध नेताकार्यकर्ता, वडा नम्वर १, २, ३, ४, ७ र ८ का वडाध्यक्ष र ८ जना नगर कार्यपालिका सदस्यहरुको बैठकबाट सो निर्णय गरिएको कांग्रेसका नगर सभापति दिपेन्द्रकुमार यादवले जानकारी दिए ।

‘नगरसभाअघि गठन हुने समितिहरु त्रुटिपूर्ण छ, एकलौटी ढंगले गठन भएको छ’ उनले भने, ‘त्यो कानून सम्वद पनि छैन्, ती कुराहरु सच्याउनु जरुरी छ र सच्याएर मात्रै नगरसभा गर्दा उत्तम हुन्छ ।’ उनले बैठकका निर्णयहरु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतका लागि पठाउदा समेत लिन नमानेपछि हुलाक मार्फत पुनः पठाइएको बताए ।

वडा नम्वर २ का अध्यक्ष रामप्रसाद रामले छलफल नै नगरीकन नगरपालिकाको बजेट र कार्यक्रम निर्धारण भइसकेको बताए । ‘वृहत् छलफल गरी बजेट र कार्यक्रम निर्धारण हुनुपर्ने हो तर धेरै कुराहरु अन्यौलै छ’ उनले भने, ‘नगरसभा अवरोध गर्ने हाम्रो उद्देश्य होइन, ती कुरा सुधार गरी अनि मात्रै नगरसभा हुँदा सबैको हकमा हुने हो ।’

उता, नगरपालिकाका मेयर आतेशकुमार सिंहले नगर कार्यपालिकाका बहुमत सदस्यको निर्णयअनुसार कानून सम्वद नै नगरसभा तोकिएको बताए । ‘बहुमत सदस्यको निर्णय अनुसार नै समितिहरु गठन भई नगरसभा गर्न लागेका हौं’, उनले भने ।

Author:



क्याटोगरी छान्‍नुहोस