मधेशमा म्यादीका लागि एकैदिन ८ हजार आवेदन, सप्तरीमा सबैभन्दा बढी

जनकपुरधाम । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनका लागि माग गरिएको म्यादी प्रहरी भर्नामा मधेश प्रदेशबाट पहिलो दिन ८ हजार बढीले आवेदन दिएका छन् ।

पहिलो दिन ६ हजार १ सय १६ पुरुष र २ हजार २ सय ९७ महिला गरी ८ हजार ४ सय १३ जनाको आवेदन परेको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ ।

आवेदनमध्ये सबैभन्दा बढी सप्तरीबाट १ हजार ६ सय ३ जनाले आवेदन दिएका छन् । त्यस्तै, सर्लाहीबाट १ हजार ४ सय २२, सिरहाबाट १ हजार ९४, धनुषाबाट १ हजार ८४, रौतहटबाट १ हजार ६, महोत्तरीबाट ७८५, बाराबाट ७२७ र पर्साबाट ६९२ आवेदन परेको छ ।

मधेश प्रदेशका ८ वटै जिल्ला प्रहरी कार्यालयले बिहीबारदेखि म्यादी भर्नाका लागि आवेदन खुला गरेकामा सो संख्यामा आवेदन परेको जनाएको छ । आवेदन दिने अन्तिम मिति असोज ६ सम्म तोकिएको छ ।

गृह मन्त्रालयले स्वीकृत गरेको म्यादी प्रहरीको ‘भर्ना छनोट, नियुक्ति तथा परिचालनसम्बन्धी मापदण्ड–२०७९’ अनुसार १८ वर्ष पूरा भई ५४ वर्ष उमेर ननाघेका व्यक्तिले दरखास्त दिन पाउनेछन् । छनोट भएकालाई असोज ३० देखि कात्तिक ८ सम्म तालिम गराएर कात्तिक ९ बाट परिचालन गरिनेछ । म्यादीले ४० दिनको तलब÷भत्ता, खाजा खर्चलगायत एकमुष्ट ५० हजार १ सय ६० रुपैयाँ पाउनेछन् ।

Author:



क्याटोगरी छान्‍नुहोस