राजविराज – सप्तरीमा कार्यरत सशस्त्र प्रहरी बलका प्रहरी सहायक निरीक्षक (असई) सत्यनारायण यादवको हत्या प्रकरणमा सशस्त्रका एक जवानलाई नियन्त्रणमा लिइएको छ । यसअघि बुधवार मात्रै राजविराजस्थित सशस्त्र प्रहरी गण नम्बर ६ का गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) प्रदीप खड्का हेडक्वाटर तानिएका थिए ।
घटनाको अनुसन्धानकै क्रममा बोर्डर आउट पोष्ट (बीओपी) छिन्नमस्तामा कार्यरत सशस्त्रका जवान होमबहादुर खत्रीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) नरेशकुमार सिंहले जानकारी दिए ।
‘अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिएका छौं’ उनले भने, ‘घटनाबारे थप अनुसन्धान जारी नै छ ।’ सशस्त्र प्रहरी बल गण नम्बर ६ हेडक्वाटर राजविराजमा दरबन्दी भई बोर्डर आउट पोष्ट (बीओपी) छिन्नमस्तामै कार्यरत सशस्त्र प्रहरी सहायक निरिक्षक सत्यनारायण यादव असोज २० गते विहान सीमावर्ती बिहार राज्यको मधुवनी जिल्ला अन्तर्गत जिरोगा अर्नामास्थित घोडदह खोलामा मृत फेला परेका थिए ।
उनी मृत फेला परेको स्थान नेपाल भारत सीमाभन्दा ३ किलोमिटर दक्षिण भारतमा रहेको छ । शव फेला पर्दा उनी नांगो अवस्थामा थिए । घटनाको अनुसन्धानका लागि प्रदेशबाट पनि नेपाल प्रहरीको अनुसन्धान टोली सप्तरी आएको छ ।
प्रहरी स्रोतकाअनुसार उनको हत्यामा सशस्त्र प्रहरी जवान होमबहादुर खत्री प्रत्यक्ष रुपमा संलग्न रहेको प्रमाणहरु फेला परेका छन् भने खत्रीको दरबन्दी अन्यत्रै रहेपनि माथिल्लो तहकै अधिकारीको निर्देशनमा छिन्नमस्ता नाका कार्यरत थिए ।
अनुसन्धान स्रोतकाअनुसार छिन्नमस्ताको मोहनपुर नाकाबाट ३ ‘स’ अर्थात सुन, सुपाडी र स्याउ तथा ३ ‘म’ मटर, मरिच र मदिराको तस्करी अत्यधिक परिमाणमा हुने गर्छ । साथै, सो नाका आसपास वेश्यवृत्ति पनि अत्याधिक हुन्छ । मृतक असई यादव तस्करीसहितका सीमामा हुने अन्य व्यापारिक गतिविधिको विपक्षमा रहँदै आएको प्रहरी स्रोतले जनाएको छ ।