विश्वकपमा उलटफेर : नेदरल्यान्ड्सको ‘चमत्कार’ मा चम्किएको पाकिस्तानको भाग्य

काठमाडौं । विश्व क्रिकेटमै ‘अन प्रेडिक्टेबल’ टीमका रूपमा चिनिन्छ पाकिस्तान । आफ्नो यही छविलाई कायम राख्दै पाकिस्तानले अष्ट्रेलियामा जारी टी-२० विश्वकपमा सेमिफाइनलमा स्थान बनाउन सफल भएको छ ।

सुपर १२बाटै आउट हुने डिलमा रहेको पाकिस्तानले अविश्वसनीय पुनरागमन गर्दै सेमिफाइनलमा स्थान बनाएको हो । त्यसो त पाकिस्तानको यो पुनरागमनमा उसको आफ्नै खेलमात्र नभएर नेदरल्यान्डसको महत्वपूर्ण भूमिका रह्यो । आजै भएको खेलमा नेदरल्यान्डले दक्षिण अफ्रिकाविरुद्ध स्तब्ध नतिजा ननिकालेको भए पाकिस्तानले कराँचीको टिकट काटिसक्नुपर्थ्यो ।

दोस्रो खेलमा जिम्बावेसँग पराजित भएपछि जिम्बावेका राष्ट्रपति इमर्सन म्यागावाले पाकिस्तानमाथि व्यंग्यात्मक टिप्पणी गरेका थिए । त्यसको जवाफमा पाकिस्तानका प्रधानमन्त्री सेहबाज सरिफले आफ्नो टोलीसँग वास्तविक क्रिकेट स्पिरिट रहेको र पुनरागमन गर्ने रमाइलो स्वभाव रहेको उल्लेख गरेका थिए । अन्ततः प्रधानमन्त्रीको सो जवाफलाई टीमले सार्थक तुल्याइदिएको छ ।

पाकिस्तानले भारत र जिम्बावेसँग हारेर विश्वकप यात्राको निकै खराब सुरूवात गरेको थियो । तथापि यी दुवै खेल निकै प्रतिस्पर्धात्मक र नाटकीय थिए । तेस्रो खेलमा नेदरल्यान्ड्सलाई हराएको पाकिस्तानले चौथो खेलमा दक्षिण अफ्रिकालाई पराजित गर्दै आफ्नो उत्कृष्टता सावित गर्‍यो । दक्षिण अफ्रिकाविरुद्ध पहिला ब्याटिङ गर्दै सुरूको १३ ओभरमा ५ विकेट गुमाएर ९५ रन जोडेको पाकिस्तानले अन्तिम सात ओभरमा विस्फोटक ब्याटिङ गर्दै ९० रन थप्यो । पाकिस्तानले यो खेल डकवर्थ लुइस नियम आधारमा ३३ रनले जितेर सेमिफाइनल पुग्ने सम्भावना कायमै राखेको थियो । तर, त्यसपछिको यात्रा उसको आफ्नो हातमा मात्रै थिएन ।

पाकिस्तानले आफ्नो अन्तिम खेलमा बंगलादेशलाई हराउनैपर्ने थियो भने नेदरल्यान्ड्सले दक्षिण अफ्रिकालाई वा जिम्बावेले भारतलाई हराउनुपर्ने थियो । यी दुवै नतिजा स्वाभाविक थिएनन् । तर, पाकिस्तानलाई अनुकूल हुने गरी अस्वाभाविक नतिजा निस्कियो ।

आइतबार बंगलादेश र पाकिस्तानबीच खेल सुरू हुनुअघि नेदरल्यान्ड्सले दक्षिण अफ्रिकालाई स्तब्ध बनायो । यो नतिजा भारतका लागि पनि अनुकूल बन्यो । उसले जिम्बावेसँग खेल्नुअगावै सेमिफाइनलमा स्थान बनायो । अब पाकिस्तान र बंगलादेशबीच जो विजयी भएपनि सेमिफाइनल पुग्ने अवस्था बन्यो । यी दुईबीचको खेल रद्द भएको अवस्थामा रन रेटका आधारमा पाकिस्तान अगाडि बढ्ने थियो । तर बंगलादेशलाई ५ विकेटले हराएर पाकिस्तानले सेमिफाइनलमा स्थान बनाएको छ ।

७३ रन जोड्दा एक विकेट मात्र गुमाएको बंगलादेशले पाकिस्तानलाई एक सय २८ रनको मात्र लक्ष्य दिन सक्यो । पाकिस्तानले ५ विकेटको क्षतिमा लक्ष्य भेट्टायो ।
सुरूका दुईवटा खेलका नतिजा हेर्दा पाकिस्तान यसपटक अभागी देखिएको थियो । पाकिस्तानलाई हराएयता भारत भने फेरी भाग्यमानी देखिएको थियो । भारतले पहिलो खेलमा पाकिस्तानमाथि चार विकेटको जित हात पार्नुमा भाग्यको पनि ठूलो हात थियो । भारतलाई अन्तिम तीन ओभरमा ४८ र अन्तिम ओभरमा १६ रन चाहिएको थियो । भारतका पूर्वकप्तान विराट कोहलीले १९ औँ ओभरका अन्तिम दुई बलमा लगातार छक्का प्रहार गरेका थिए । तर, २० औँ तथा अन्तिम ओभरमा पाकिस्तानका मोहम्मद नवाज अभागी रहे ।

उनले सुरूका तीन बलमा एक विकेट लिएर ३ रन मात्र दिएका थिए । तर, चौथो बलमा कोहलीले छक्का प्रहार गरे भने उक्त बलले विवादितरूपमा नो बलको मान्यता पायो । भारतलाई अब तीन बलमा ६ रन आवश्यक थियो । नवाजले लगत्तै अर्को बल वाइड फ्याँके । उनले वैध चौथो बलमा दुई रन दिए भने पाँचौं बलमा विकेट लिए । अब भारतलाई एक बलमा दुई रन चाहिएको थियो । तर नवाजले फेरी वाइड फ्याँके ।

जिम्बावेसँग पाकिस्तानले व्यहोरेको एक रनको हार पनि उत्तिकै नाटकीय रहेको थियो । केवल एक सय ३१ रनको लक्ष्य पाएको पाकिस्तानलाई जितका लागि अन्तिम तीन बलमा दुई रनमात्र चाहिएको थियो । तर, २० औँ ओभरको चौथो बलमा पाकिस्तानले रन जोड्न सकेन भने त्यसपछिका बाँकी लगातार दुई बलमा विकेट गुमाएको थियो ।
दोस्रो खेलमा नेदरल्यान्ड्सलाई हराएको भारत भारत तेस्रो खेलमा दक्षिण अफ्रिकासँग पराजित भएपछि दबाबमा आएको थियो । भारतले पनि अगाडि बढ्न लगातार दुई खेल जित्नुपर्ने अवस्था बन्यो । चौथो खेलमा बंगलादेशमाथि भारतले प्राप्त गरेको जित सजिलो रहेन । पहिला ब्याटिङ गरेको भारतले एक सय ८५ रनको लक्ष्य दिएको थियो । बंगलादेशले ७ ओभरमा विकेट नगुमाइ ६६ रन जोडेको अवस्थामा वर्षाले खेल रोक्यो ।

त्यसपछि बंगलादेशले १६ ओभरमा एक सय ५१ रन बनाउनुपर्ने नयाँ लक्ष्य पाएको थियो । वर्षा रोकिएर खेल सुरू भएको दोस्रो बलमै विस्फोटक ब्याटिङ गरेका लिटन दास रनआउटको शिकार बने । केएल राहुलले मिड विकेट क्षेत्रबाट प्रहार गरेको डाइरेक्ट थ्रो स्टम्पमा लागेको थियो । ९९ रनमा दुई विकेट गुमाएको अवस्थामा बंगलादेशले १२ औँ ओभरमा दुई विकेट गुमाएको थियो । १३ औँ ओभरमा पनि थप दुई बंगलादेशी ब्याट्सम्यान आउट भए । भारतले यो खेल केवल ५ रनले मात्र जितेको थियो ।

भारत र बंगलादेशको खेल पनि विवादमुक्त भएन । उक्त खेलमा भारतीय ब्याट्सम्यान विराट कोहलीले फेक थ्रो गरेको घटना चर्चामा छ । नियमतः फेक थ्रो गर्दा ब्याटिङ गर्ने पक्षलाई ५ रन दिइनुपर्ने भए पनि अम्पायरले यसलाई नजरअन्दाज गरेका थिए ।

भारत र पाकिस्तानको सेमिफाइनल प्रवेशले यी दुई टोली फाइनलमा भिड्न सक्ने समिकरण बनेको छ । त्यसका लागि यी दुवै टोलीले सेमिफाइनल जित्नुपर्ने छ । सन् २००७ मा आयोजित पहिलो टी-२० विश्वकपमा पनि भारत र पाकिस्तान भिडेका थिए । त्यतिबेला पाकिस्तानलाई हराएर भारत विश्व च्याम्पियन बनेको थियो । त्यसयता भारतले यो प्रतियोगिता जित्न सकेको छैन ।

पाकिस्तानले दोस्रो संस्करणमा फाइनल पुगेर श्रीलंकालाई पराजित गर्दै उपाधि जितेको थियो । त्यसयता पाकिस्तान पनि यो प्रतियोगिताको उपाधि जित्न असफल रहेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस