राजविराजका शहिद परिवारलाई मासिक ५१ सय भत्ता

राजविराज, १ पौष । सप्तरीको राजविराज नगरपालिका क्षेत्रभरिका शहिद परिवारलाई मासिक ५ हजार १ सय रुपैयाँ भत्ता दिन थालिएको छ । नगरपालिकाले शहिद परिवारको सहज जीवनयापनका लागि सहयोग स्वरुप सो राशि उपलब्ध गराउन थालेको हो ।

नगरपालिकाले आर्थिक वर्ष ०७९/०८० को नगरसभाबाट ‘राजविराज नगर क्षेत्रभित्रका शहिद परिवारहरुलाई प्रति परिवार प्रति महिना ५ हजार १ सय रुपैयाँ दिने’ निर्णय गरेको थियो । सोही निर्णयअनुसार नै शुक्रबारसम्म ३ शहिद परिवारलाई सो रकम उपलब्ध गराइएको नगरपालिकाकी कार्यवाहक नगरप्रमुख इसरत प्रविणले जानकारी दिएकी छन् ।

उनले शहिदको बलिदानले नै लोकतन्त्र र गणतन्त्र स्थापना हुँदै मुलुकले संघीयता र नयाँ संविधान पाएसँगै अहिले संघीय, प्रदेश र स्थानीय सरकारमार्फत मुलुक समृद्धिको यात्रामा अघि बढेकाले शहिद परिवारको सम्मान र राहतका लागि सो योजना ल्याइएको बताइन ।

सो सुविधा प्राप्त गर्न शहिद परिवारले शहिद प्रमाण पत्र, नागरिकता प्रतिलिपी, नाता प्रमाणित कागजात र सम्बन्धित वडा कार्यालयको सिफारिस सहितका कागजात पेश गर्नुपर्ने प्रावधान राखिएको प्रमुख प्रशासकीय अधिकृत विनयकुमार सोनूले जानकारी दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस